थामडाँडामा गुरुङ समुदायको दाहसंस्कार गर्ने विधिबारे प्रशिक्षण (तस्बिर/भिडिओ)
- २२ जेष्ठ २०८१, मंगलवार
- 771 पटक पढिएको
म्याग्दी, २२ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा गुरुङ समुदायको दाहसंसकार गर्ने विधि, तरिकाबारे प्रशिक्षण दिन थालिएको छ । तमु प्ये ल्हु संघ, म्याग्दीको आयोजना र बेनी नगरपालिका– ४ वडाको आर्थिक सहयोगमा गुरुङ समुदायको बाहुल्य बसोबास रहेको थामडाँडामा पाँच दिने तालिम सञ्चालन गरिएको हो ।
गाउँमा दाहसंस्कार गर्ने विधि र तरिका जानेका व्यक्तिहरु भेटिन मुस्किल भएको र परम्परागत मुल्य मान्यता र संस्कारलाई पुरा गरेर दाह संस्कार गर्न कठिनाई आइपरेपछि युवाहरुलाई दाहसंस्कारको सीप हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको तमु प्ये ल्हु संघ, म्याग्दीका अध्यक्ष पुर्णबहादुर गुरुङले बताउनुभयो ।
स्थानीय युवाहरु सहभागी भएको उक्त तालिममा तमु गुरुहरु सरन कुमार तमु, टिकबहादुर तमु, अनीस तमु र अविनास तमुले प्रशिक्षण दिनुहुनेछ । तालिममा गुरुङ समुदायका व्यक्तिको मृत्यु भएपछि अन्तिम संस्कार गरेर दाहसंस्कार गर्ने विधि, प्रकृया र उक्त समयमा बजाइने बाजाको सीप समेत सिकाइनेछ ।
गुरुङ समुदायका व्यक्तिको निधन भएपछि अन्त्योष्टि गर्ने क्रममा गुरुङ भाषाकै धर्मग्रन्ध पढेर ढ्याङ्ग्रो,झ्याली र स्वर्गबाजा बजाएर लैजाने चलन रहेको छ । तालिमको उद्घाटन गर्दै प्रशिक्षक एवम पच्यु गुरु सरन कुमार तमुले परम्परागत रुपमा रहेका चलन, प्रचलन र संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आबश्यक रहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तामा दाहसंस्कार सम्वन्धी ज्ञान र सीप नहुँदा परम्परागत मूल्य मान्यता ओझेलमा परेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, वडा सदस्य सन्दिप खत्री, भृकुटी आधारभुत विद्यालयका प्रधानध्यापक शेरबहादुर गुरुङ, स्थानीय अगुवा तिलक गुरुङ लगायतले संस्कारको पुस्तान्तरण गर्दै नयाँ पुस्तामा आफ्नो समुदायको मुल्य, मान्यता र संस्कारको सिप विकास गराउन तालिमले सघाउने विश्वास व्यक्त गर्नुभयो । तालिममा गुरुङ समुदायको दाहसंस्कार गर्ने विधिसंगै आफ्नै भाषको पुस्तकको अध्ययन र बजाउने बाजाहरुको सीप सम्वन्धी प्रशिक्षण गरिने स्थानीय भिम गुरुङले बताउनुभयो । उहाँका अनुसार, थामडाँडामा अहिले दाहसंस्कारको लागि स्थानीय ७७ बर्षिय तेजबहादुर गुरुङ मात्रै एक्लो गुरुको रुपमा हुनुहुन्छ । दिवंगत व्यक्तिको दाहसंस्कार भएपछि तीन दिनमा अरगुम गर्ने चलन रहेको छ ।