म्याग्दीका लेकाली जङ्गलमा ढकायो टिप्ने चटारो

  • १७ बैशाख २०८१, सोमबार
  • 1391 पटक पढिएको

म्याग्दी १७ वैशाख । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीका स्थानीयले वनजङ्गलमा पाइने ढकायोको सागलाई तरकारी बनाएर उपभोग गर्ने गर्छन् । जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायतका गाउँबस्तीमा तरकारीको रुपमा उपभोग गर्ने गरि वनजङ्गलमा पाइने ढकायोलाई संकलन गर्ने चलन छ ।
अहिले लेकाली क्षेत्रका जङ्गलहरुमा ढकायो टिप्ने चटारो बढेको रघुगंगा गाउँपालिका– ८ कुइनेमंगलेको च्याप्टेडेमर खर्कमा ढकायो संकलन गर्दै गर्नुभएका स्थानीय युवा जीवन छन्त्यालले बताउनुभयो । जंगलबाट ढकायोको बोटबाट संकलन हुने पात र ढाँठलाई तरकारीको रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो ।
ढकायोको गुन्द्रक बनाएर यसलाई बेमौसममा समेत लेकाली क्षेत्रका स्थानीयले उपभोग गर्दै आएका छन् । वन जङ्गलमा वनस्पती प्रजातिको ढकायोलाई सुकाएर गुन्द्रुक बनाएर उपहारको रुपमा देश विदेशमा समेत लैजाने चलन रहेको कुइनेमंगलेका स्थानीय नरे छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, वन जङ्गलमा वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायो संकलन गर्न सकिन्छ । लेकाली क्षेत्रमा ढकायो संगै निउरो, वनलसुन, वन धनिया, टुसा, च्याउलगायत संकलन गरेर गरेर स्थानीयले उपभोग संगै देश विदेशमा उपहार पठाउने र विक्रि गरेर आम्दानी समेत गर्दै आएका छन् ।