पुख्र्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी

  • १५ बैशाख २०८१, शनिबार
  • 445 पटक पढिएको

म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुख्र्यौली नाच प्रतियोगितामा वडा नम्बर ८ काफलडाँडाको पुख्र्यौली समूह बिजयी भएको छ । भूमे पुजाको अवसरमा अन्नपूर्ण–२ नम्बर वडा कार्यालयले आयोजना गरेको सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगितामा विभिन्न ११ पुख्र्यौली समूहले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा वडा नम्बर १ दोबाको पुख्र्यौली समूह द्धितिय,भुरुङ तातोपानी मैत्री समाज पोखरा पुख्र्यौली समूह तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई क्रमशः नगद एक लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र ६५ हजार रुपैयाँको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा सहभागी सबै समूहलाई नगद रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको वडा अध्यक्ष एवंम प्रतियोगिताका संयोजक ओमप्रसाद फगामीले जानकारी दिनुभयो । पुन मगर समूदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र संवद्र्धन गर्ने उदेश्यले आयोजित प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा मादलेतर्फ रिमाको पुख्र्यौली समूह ,मारुनीतर्फ शिखको पुख्र्यौली समूह, हाइमार्ने समूहतर्फ पाउद्धार पुख्र्यौली समूह, माका तथा लय तर्फ काफलडाँडा पुख्र्यौली समूह , पोशाकतर्फ नारच्याङ लेकगाउँ र अनुशासनतर्फ भुरुङ तातोपानी पुख्र्यौली समूह उत्कृष्ट घोषित भएका थिए । विद्यागत रुपमा उत्कृष्ट घोषित पुख्र्यौली समूह प्रत्येकलाई नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष एवम प्रतियोगिताका मुल संयोजक फगामी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताले यस क्षेत्रमा रहेको पुख्र्यौली नाचको संरक्षण र अन्तरपुस्ता हस्तान्तरणमा सघाउने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । उहाँले कला, संस्कृतिको संरक्षणको लागि आगामी दिनमा समेत गाउँपालिकाले प्राथमिकता दिने बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली नाच प्रतियोगितालाई सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने वडा कार्यालयले देश तथा विदेशमा रहेका भुरुङबासीको अग्रसरतामा रु १९ लाख बढी सहयोग जुटाएर प्रतियोगितालाई सफल बनाएको जनाएको छ ।