ज्ञानोदय माविमा आधुनिक कम्प्युटर ल्याब स्थापना

  • ६ बैशाख २०८१, बिहीबार
  • 429 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । क्वालिटी एजुकेशन नेपाल, अष्टेलिया र एजुटेक नेपाल, न्युजिल्याण्डको आर्थिक सहयोगमा सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु १५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । विद्यालयमा सर्वर सिस्टमबाट चल्ने २० वटा कम्पयुटर जडान गरिएको लर्नका निर्देशक कृष्ण तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, आधुनिक कम्प्युटर ल्याबको रुपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई डिजिटल साक्षरताको रुपमा विकास गर्न उपयोग गरिनेछ । ल्याबमा फर्निचर लगायतको व्यवस्थापनमा विद्यालयले करिब ३ देखि ४ लाख खर्च जुटाएको र कम्प्युटर, इन्भटर, सर्भर लगायतको खरिदमा दुई वटा संस्थाले १० लाख बढी लगानी गरेको लर्नका निर्देशक तिलिजाले बताउनुभयो । उहाँका अनुसार, यस ल्याब अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास माध्यमिक विद्यालयमा समेत स्थापना गरिएको छ ।
बुधवार क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाका अध्यक्ष पिटर जेटी हलले प्रभा मावि र ज्ञानोदय माविको कम्प्युटर ल्याब सम्वन्धीत विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
ल्याब हस्तान्तरण गर्दै अध्यक्ष हलले नेपालमा शिक्षण सिकाईमा आनुधिक प्रविधिको उपयोगका लागि १ हजार सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गर्ने लक्ष्य  लिएकाे  एजुटेक नेपालसंग सहकार्य गरिएकाे  जानकारी दिनुभयो । कक्षा ६ देखि १० सम्म नै कम्प्युटर बिषयको पठनपाठन गराउँदै आएका सामुदायिक विद्यालयहरुले कम्प्युटरको अभाबमा प्रयोगात्मक अभ्यास रहित तरिकारले पाठ्यपुस्तक मात्रै पठनपाठन गर्नुपर्ने बाध्यता रहेको थियो ।
विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास सहित कम्प्युटर बिषयको पठनपाठन गराउन सहज हुने ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताउनुभयो । ‘‘विद्यालयका कम्प्युटर पुराना भएर बिग्रिएपछि विद्यार्थीहरुले अभ्यास गर्न पाएका थिएनन्, हामीले कम्प्युटर बनाउन हैरानी खेप्नुपरेको थियो, अहिले लर्नको नेतृत्वमा दातृ संस्थाहरुको सहयोगमा सुविधासम्पन्न र आधुनिक कम्प्युटर कक्ष तयार भएको छ, अब विद्यार्थीहरुसंगै समुदायमा नै डिजिटल साक्षरताको पहुँच विस्तार हुने विश्वास लिएका छौँ’’– अध्यक्ष सुवेदीले भन्नुभयो ।
विद्यालय समय बाहेक विहान र बेलुकाको समयमा युवा क्लब, आमा समूह लगायत स्थानीयबासीलाई समेत लक्षित गरेर उक्त कम्प्युटरहरुलाई उपयोग गरेर कम्प्युटर सिकाई सञ्चालन गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो । यस कम्प्युटर ल्याब सर्बर प्रणालीमा आधारित भएकाले कम्प्युटरमा विद्यार्थीहरुले सिकेका र खोजेका कुराहरुको कम्प्युटर शिक्षकले एउटै कम्प्युटरबाट नियन्त्रण गर्न र नियाल्न सक्ने व्यवस्था गरिएको छ ।
कम्प्युटर ल्याब हस्तान्रतण कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले कम्प्युटर ल्याबको लागि फर्निचनर व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरेको बताउँदै विद्यालयको थप भौतिक पूर्वाधार निर्माणमा पालिकाले सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र विद्यालयका प्रअ बिजय शर्माले सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापनाले विद्यार्थीहरुमा आकर्षण बढाउने र आधुनिक सिकाईको पहुँच बढाउनेमा जोड दिनुभयो । कार्यक्रममा सहयोगदाता संस्थाहरुलाई विद्यालयले सम्मान समेत गरेको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, सदस्य कमला केसीको स्वागत र विद्यालयका शिक्षक अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।