म्याग्दीको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ छेडियो

  • २९ चैत्र २०८०, बिहीबार
  • 813 पटक पढिएको

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका ७ र ८ मा निर्माणाधीन ३७ दशमलव ५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको बन्दीको अडिट १ र खरिबोटमा रहेको अडिट २ जोड्ने सुरुङको हिजो बेलुका ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिनुभयो । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण शुरु भएको थियो । तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

मङ्गले राहुघाटको विद्युत् गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट बिजुली उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ ।  १४ अर्ब रुपैयाँकाे लागतमा २०७७ सालमा शुरु भएका दुई वटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।