बजेट नआएपछि विद्यालय भवन निर्माण योजना प्रभावित

  • २५ चैत्र २०८०, आईतवार
  • 175 पटक पढिएको

म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । संघीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत बर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो ।
निर्माण व्यवसायीले भवन निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएपनि संघीय सरकारबाट थप बजेट नआएको कारण भवनलाई पूर्णता दिन समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो । निर्माण व्यवसायीलाई गाउँपालिकाले करिब रु एक करोड ८४ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ । सम्झौता बमोजिमको बजेट सरकारले नपठाएपछि गाउँपालिका अध्यक्ष भारतकुमार पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलगायतको टोलीले अर्थमन्त्री बर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ समेतलाई भेटेर ध्यानकर्षण समेत गराउनुभएको छ ।
‘‘ निर्माण व्यवसायीले गत फागुन भित्रै काम सक्ने स्थिति थियो, तर सरकारले दिनुपर्ने भुक्तानी नै पठाएन, हामी अहिलेपनि काठमाण्डौमा निरन्तर ध्यानकर्षण गराउन गइरहेका छौँ, पठाउन बाँकी थप बजेट पठाउने कुनै संकेत देखिएको छैन’’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भन्नुभयो ।
काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायीले अहिले भवन निर्माण कार्यलाई स्थगीत गरेका छन् । भवन निर्माणको थप बजेट संघीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
‘‘ भवनको अधिकाँश काम सकिएको छ, तर निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम माथिबाट आएको छैन, योजनाको काम नै रोकिने अवस्थामा पुगेको छ’’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो ।
वि.स. २०८० वैशाख २४ गते जयलक्ष्मी÷अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गते भित्र सम्पन्न गर्नेगरी रु तीन करोड ८४ लाख १८ हजार नौ सय सात लागतमा उक्त भवन निर्माण योजनाको ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीले भवन निर्माणको काम सकेर झ्याल ढोका राख्ने, रङ्गरोगन गर्ने लगायतका फिनिसिङको काम मात्रै बाँकी रहेको जनाएको छ । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयोे ।
निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्याल ढोका र स्टिल फर्निचरलगायतका सामग्रीहरु तयारी अवस्थामा राखेको र थप भुक्तानी गर्नुपर्ने रकमको व्यवस्थापन भएमा भवनले छिट्टै पूर्णता पाउने उहाँको भनाई छ । कक्षा ९ देखि १२ सम्म इलेक्टिकल इन्जिनियरिङको समेत पठनपाठन हुने यस विद्यालयमा करिब ३ सय विद्यार्थीहरुले अध्ययन गर्छन् । विद्यालयको भवन निर्माण योजना अधुरो हुँदा विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ । रासस