अख्तियारमा म्याग्दीका ५४ उजुरी

  • २२ चैत्र २०८०, बिहीबार
  • 397 पटक पढिएको

म्याग्दी , २२ चैत । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधवार रघुगंगा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सहकार्य बिषयमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालय, प्रमुख आस्मान तामाङले सरकारी कार्यालय र सार्वजनिक पदमा रहेका व्यक्तिहरु जिम्मेवार र जवाफदेहि नहुँदा उजुरीको संख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले अख्तियारमा उजुरीको सख्ंया बढेपनि  प्रमाणमा आधारित उजुरी कम पर्ने भएकाले अख्तियारमा पर्ने १० देखि १५ प्रतिशत उजुरी मात्रै अनुसंधानमा योग्य हुने गरेको बताउनुभयो । ‘‘ भ्रष्टाचार नियन्त्रण गर्न त्यस्ता कार्यमा संलग्नहरुमाथि उजुरी पर्नु राम्रो पक्ष हो, तर अधिकाँश मुद्धाहरु व्यक्तिगत असहमती र प्रमाणविहिन खालका पनि आउने गरेका छन, एउटै उजुरीलाई धेरै वटा निकायमा दिने प्रवृीत्र पनि छ’’– उहाँले भन्नुभयो ।
म्याग्दीमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका २१ र चालु आर्थिक बर्षमा दर्ता हुन आएका ५५ वटा उजुरीहरुमध्ये  ५५ फछ्यौट भएको र २१ वटा अनुसन्धानकै क्रममा रहेको कार्यालय प्रमुख तामाङले बताउनुभयो । जिल्लाबाट परेका यि उजुरीहरु संघ, प्रदेश र स्थानीय तहका योजना तथा कार्यक्रम र सेवा प्रवाहसंग सम्वन्धी रहेका छन् । म्याग्दीमा विद्यालय, स्वास्थ्य चौकी भवन, जलविद्युत, सडक, पदमार्ग, सर्वाजनिक जग्गा अतिक्रमण, अनुदान वितरण, सामाग्री खरिद, प्रशासनीक खर्च, पूर्वाधार योजना, सामाजिक सुरक्षा भक्तालगायतका बिषयमा अख्तियारमा उजुरी परेको जनाइएको छ ।
अख्तियारमा परेका उजुरीहरुमध्ये म्याग्दीका ६ वटा स्थानीय तह अन्तरगत ४३ वटा उजुरी रहेका छन् । कार्यालयका अनुसार, मंगला गाउँपालिकामा १२, मालिका गाउँपालिकामा ११, रघुगंगा गाउँपालिकामा ९, बेनी नगरपालिकामा ६, अन्नपूर्ण गाउँपालिकामा तीन र धवलागिरि गाउँपालिकामा दुई वटा उजुरी दर्ता भएका हुन् । अख्तियारले स्थानीय तहहरुलाई बजेट खर्चमा पारदर्शीता र प्रकृयाको पूर्ण पालना गर्दै कार्यान्वयन गर्न सुझाब दिएको छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख तामाङले भ्रष्टाचार नियन्त्रण र शुसान प्रवद्र्धनको सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुःख दिने नियतले उजुरी दिने प्रवृतिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले झण्झट व्यहोर्नुपरेको गुनासो गर्नुभयो ।