सिंगामा बालमैत्री स्थानीय शासन वडा समिति गठन

  • २२ चैत्र २०८०, बिहीबार
  • 129 पटक पढिएको

सिंगा, २१ चैत्र । बेनी नगरपालिका, वडा नं. ४ सिंगामा मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको संयुक्त तत्वावधानमा बुधबार वडा कार्यालयको सभाहलमा आयोजना गरिएको वडास्तरीय अभिमुखीकरण कार्यशालापश्चात् सो समिति गठन गरिएको हो ।
वडा अध्यक्ष अणबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा वडा सदस्यहरु मीना कार्की, पवित्रा सार्की, प्रेम श्रीस र केन खत्री पदेन सदस्यको रुपमा रहनुभएको छ । विद्यालयस्तरीय बाल क्लबबाट सुडेन कार्की र प्रिस्मा खत्री, महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट धनकुमारी गुरुङ र रविना बानियाँ, टोल विकास संस्थाबाट मीना खड्का र भुपेन्द्र बानियाँ, विद्यालय व्यवस्थापन समितिबाट प्रेम बि.क., शिक्षक अभिभावक संघबाट सजिना किसान, विद्यालयका जेण्डर फोकल पर्सनको तर्फबाट सोबिता बानियाँ कार्की, स्वास्थ्य व्यवस्थापन समितिबाट कृष्ण खड्का र सिंगा प्रहरी चौकीलाई भेलाले सदस्यको रुपमा चयन गरेको छ ।
वडा सचिव विनिता रेग्मी बालमैत्री स्थानीय शासन वडा समितिको पदेन सदस्यसचिव रहनुभएको छ ।
भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योती लामिछानेले नगरपालिकालाई बालमैत्री बनाई बालबालिकाका अधिकार सुनिश्चित गर्नुका साथै बालबालिकालाई पूर्ण दक्ष नागरिक बनाउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो । “बालबालिकाको चौतर्फी विकासमा लगानी गर्नु भनेको मानवीय विकासमा लगानी गर्नु हो”, उहाँले भन्नुभयो, “मानवीय विकासले मात्र समुदायलाई समृद्ध बनाउन सक्छ ।”
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नेपालको संविधान, बाल अधिकार महासन्धि र अन्य प्रचलित कानुनले निर्दिष्ट गरेका बालबालिकाका अधिकारलाई सुनिश्चित गर्नका लागि बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
बेनी नगरपालिकाका सबै वडामा यसै वर्ष बालमैत्री स्थानीय शासन वडा समिति गठन गर्नुका साथै सर्वेक्षण गरी बाल प्रोफाइल तयार गर्ने र सोको कार्यालयमा सहकार्य रहने सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालनका लागि प्राविधिक एवम् विज्ञ सहजीकरण रुपान्तरण नलेज हबले गरिरहेको छ ।