गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • १७ चैत्र २०८०, शनिबार
  • 221 पटक पढिएको

म्याग्दी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा स्त्रीरोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गलेश्वरधाम आमा समूहले बेनी नगरपालिका र बेनी अस्पतालको सहयोगमा शनिवार आयोजना गरेको स्त्रीरोग सम्वन्धी शिविरमा ८७ जनाले सेवा लिएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धा तथा गलेश्वर बजारका स्थानीयले शिविरमा स्वास्थ्य परिक्षण सेवा लिएका थिए ।


शिविरमा बेनी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर अञ्जु डापाको नेतृत्वको डाक्टर, स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण र औषधी वितरण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

 

गलेश्वरधाम आमा समूहले विगतका बर्षमा समेत महिलाहरुलाई लक्षित गरेर स्त्रीरोग सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र बृद्धा तथा गलेश्वरका महिलाहरुलाई सुविधा होस भनेर यस बर्ष समेत शिविर सञ्चालन गरिएको आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी अस्पतालमा महिला रोग सम्वन्धी विशेषज्ञ डाक्टर नै शिविरमा सहभागी भएर स्वास्थ्य चेकजाँच गर्दा स्त्रीरोग सम्वन्धी समस्या भएका महिलाहरु लाभान्वित बनेको बताउनुभयो । उहाँले नगरपालिकाले समेत नगरबासीको स्वास्थ्यमा संवेदनशिल बनेर सहज र सरल रुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने अभियानमा लागेको बताउँदै स्वास्थ्यमा आम नागरिक समेत सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डाक्टर अञ्जु थापाले शिविरले स्त्रीरोग सम्वन्धी समस्याको पहिचान र उपचार संगै सचेतना फैलाउन समेत सहयोग पुग्नेमा जोड दिनुभयो । कार्यक्रममा आमा समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले स्वागत र सचिब निशा महत जिसीले सञ्चालन गर्नुभएको थियो ।