पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

  • १६ चैत्र २०८०, शुक्रबार
  • 499 पटक पढिएको

बेनी, १६ चैत । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो ।      म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा भएको खेलको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

पत्रकारको टोलीलाई कलाकारको टोलीले १ का विरुद्ध ३ सेटले जित हाँसिल गरेको थियो । खेलाडीहरुलाई नगर प्रमुख केसी, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसी, जिल्ला भलिबल संघका उपाध्यक्ष खड्ग केसीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख केसीले समाजको वास्तविकताको उजागर गर्ने पात्र पत्रकार र कलाकार भएको बताउनुभयो । उहाँले पेशामा सिर्जनशिलता, व्यवसायिकता र निरन्तरताको सुझाव दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरख बहादुर जिसी, महासंघका संस्थापक शाखा अध्यक्ष घनश्याम खड्काले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको थियो ।