लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

  • १२ चैत्र २०८०, सोमबार
  • 133 पटक पढिएको

म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको उद्घाटन गदैं सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की(विर्खची)ले वित्तिय सेवामात्रै नभई सहकारीले सेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘सेयर सदस्यको हितमा काम गरिरहेका सहकारी सधै बलियो हुन्छ, सेवामुलक र वित्तिय साक्षरतामार्फत सहकारीप्रतिको भ्रम चिर्नुपर्छ’अध्यक्ष कार्कीले भन्नुभयो। उहाँले सहकारीका सञ्चालन, कर्मचारी इमान्दार भएको सहकारी कहिल्यै कमजोर अवस्थामा नपुग्ने भएकाले सहकारीका सेयर सदस्यको समेत निगरानी आवश्यक रहेको बताउनुभयो। स्थापना दिवसको अवसरमा प्रमुख अतिथि सहकारी संघका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी,तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षत्रीले केक काटेर संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । शिविरमा सुगर,प्रेसर र दाँतको चेकजाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा समेत जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल,कोर स्माईल डेन्टल क्लिनिकका डा. मोचन श्रेष्ठ र बेनी अस्पतालमा ल्याब टेक्निसियन सिताराम श्रेष्ठले चेकजाँच गर्नुभएको थियो । स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता लोकदिप सहकारीका उपाध्यक्ष देबेन्द्र पौडेल, स्वागत सह–सचिव गोविन्द रिजाल र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । सहकारीले स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोग सहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।