भिषण असिनाले म्याग्दीमा हिउँदेबालीमा क्षति

  • १२ चैत्र २०८०, सोमबार
  • 2617 पटक पढिएको

बेनी, १२ चैत । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो ।
रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ पाँच बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउ लगायतका खाद्य बाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रीएका मकै बाली समेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकहरुले बताएका छन् ।
असिनाले सुन्तला, कागती लगायतका फलफुलमा लागेको फूल समेत झारेको छ । रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनी नगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिनापानी भएको थियो । त्यसैगरि मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ लगायतका क्षेत्रमा समेत असिनापानीले जौ, गहुँ, प्याज लगायतका खेतीबालीमा क्षति पु¥याएको छ ।
असिनाले गौ, जौ, तोरी लगायतका खाद्यबालीसंगै तरकारी खेतीमा समेत ठूलो क्षति पु¥याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिनुभयो । ‘‘हिउँदभर सिचाइ गर्न पानी आएन, अहिले एकै पटक अनिसापानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’–कृषक बानियाँले भन्नुभयो ।
असिनापानीले हिउँदेबालीमा ठूलो क्षति पु¥याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको जनाएका छन् । अनिसा पानीले पु¥याएको क्षतिको वडा स्तरबाट विवरण संकलन गर्न थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।