पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास

  • १२ चैत्र २०८०, सोमबार
  • 763 पटक पढिएको

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ ।

टोड्केको भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो पाहुना नआउँदा होमस्टे सुनसान रहेको बताउनुभयो ।  “शुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुदैनथ्यो । विदेशी पर्यटक पनि आउन थालेका थिए,” उहाँले भन्नुभयो “कोरोनाको महामारी फैलिएपछि घरवासमा पाहुना आएका छैनन् । पाहुना आउने आशामा छौ ।”

 

गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ वटा घरमा सञ्चालन भएको घरवासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहि सहितको अर्गानिक खाना सादा रु. २००, मासु खाना रु. ३०० तथा बेडको रु. १०० मूल्य निर्धारण गरिएको छ ।

 

फापर, आलुु, मुला तथा बर्खा याममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको होमस्टे सञ्चालक गंगा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

 

अग्रिम जानकारी गराए खिर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुरख्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।

 

म्याग्दीको बेनी देखि १ घण्टा ३० मिनेट गाडी र ५ घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँ देखि १ घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्रि सतहदेखि २ हजार ४०० मिटर उचाईमा रहेको टोड्के पुगिन्छ ।

 

लालीगुराँसको जंगलको बिचमा रहेको पहाडको टाकुरा टोड्के देखि सुर्योदय, सुर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरी, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे हिमाल अवलोकन गर्न सकिन्छ । बसन्त ऋतुमा टोड्केको पाखा लालीगुरास फुलेर रंगिएको छ ।

 

छोटो अवधीको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनको लागि टोड्के उपयुक्त गन्तब्य हो । सडक यातायात पुगेको टोड्केमा खान बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।

 

धैलागिरी पानोरमा सांस्कृतिक र धौलागिरी सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुदै मालिका, ठाडाखानी, कुइनेखानी, झिँ लगायतका गाउँ र धार्मिक पर्यटकीय स्थलको भ्रमणमा पनि जान सकिन्छ ।