म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

  • ९ चैत्र २०८०, शुक्रबार
  • 137 पटक पढिएको

‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, भिडियो तथा अडियो, तस्विर, संविधान, शिक्षा ऐन र नियमावली, सूचना तथा सञ्चार प्रविधि, ¥यापिड फायर शीर्षकमा सहभागीहरुलाई प्रश्नहरु सोधिएको थियो । विभिन्न आठवटा समूहहरु सहभागी प्रतियोगितामा समूह एच प्रथम, समूह एफ द्वितीय र समूह डि तृतीय भएका थिए । विजयी हुने सहभागी विद्यार्थीहरुमा समूह एचबाट सज्जन आचार्य, दिवशबाबु शाही र एलिसा बरुवाल, द्वितीय हुने समुह एफबाट पुजा राम्जाली पुन, निशा राना र आशिष पौडेल तथा तृतीय हुने डि समूहबाट शिला सुवेदी, शिला चोखाल र जानुका उपाध्याय रहनुभएको थियो । उहाँहरुलाई क्रमशः नगद पाँचहजार पाँचसय, चारहजार पाँचसय र तीनहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्र पुरस्कारस्वरुप प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक गण्डकी प्रदेशका प्रमुख सुशोबन देवकोटाले केन्द्र, प्रदेश र शाखाबाट गर्न सक्ने सहयोगका लागि आफूहरु सधैँ तयार रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले हाजिरी जवाफ प्रतियोगिताले लोकसेवा, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारीमा विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम म्याम्पस प्रमुख जिसीको अध्यक्षता र प्राध्यापक प्रेम जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।