५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

  • ८ चैत्र २०८०, बिहीबार
  • 129 पटक पढिएको

म्याग्दी, ८ चैत ।  गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए । नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका ३ प्रतिशत जनसङ्ख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको उनले बताए ।

“५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,” उनले भने, “६१ हजार ६ सय ३४ धारा र ४ सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।” ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ खिबाङ, –४ को पटार, छेम्दी –३ को दाना बजार, दुवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट १ हजार ९०० जनसंख्या लाभान्वित भएका ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिए । उनका अनुसार ती योजनाहरुमा करिब २ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । साथै आगामी आर्थिक वर्षमा वडा नम्बर –४ नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि १ करोड १५ लाख रुपैयाँ ट्रष्टले खर्च गर्ने उनले बताए । ट्रष्टले हाल १४ जिल्लाका ४ नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।