गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला

  • ७ चैत्र २०८०, बुधबार
  • 115 पटक पढिएको

म्याग्दी, ७ चैत । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको हो । 
कार्यशालामा कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख,प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । गोर्खा वेल्फेयर ट्रष्टद्वारा आयोजित अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रममा उत्थानशील खानेपानी, सरसफाइ र विपद जोखिम न्यूनीकरणका सम्बन्धमा पालिकाले संचालन गरेका कार्यक्रम र योजनाका बारेमा आ–आफ्नो प्रस्तुती समेत गरेका थिए ।
कार्यक्रममा गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दिपक कुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य र गोर्खा वेल्फेयर ट्रष्टले नेपालमा गरिरहेको परोपकारी कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको कुल जनसंख्या मध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका ३ प्रतिशत जनसंख्यामा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निर्माण भएका खानेपानीको पहुँच पुगेको बताउनुभयो । कार्यक्रमका निर्देशक श्रेष्ठले ५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजनाहरु निर्माण गरी ३ प्रतिशत जनसंख्यामा खानेपानी सेवाको पहुँच पु¥याउन सफल भएको जानकारी गराउनुभयो ।
यस्तै ६१ हजार ६३४ वटा धारा निर्माण, ४३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको उहाँले जानकारी गराउनुभयो । गोर्खा वेल्फेयर ट्रष्टले सन् १९७६ देखि नेपालमा विद्यालय भवन निर्माण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन र खानेपानी तथा सरसफाइ आयोजना निर्माणको कामहरु गर्दै आएको छ । गोर्खा वेलफेयर ट्रष्टले हाल १४ जिल्लाका ४ नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा कार्यक्रम सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताँजकोट गाउँपालिकाको सहभागिता रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ खिबाङ,४ को पटार,छेम्दी ३ को दाना बजार,दवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट करिब एकहजार नौंसय जनसंख्या लाभान्वित भएको गोर्खा वेल्फेर ट्रष्टका कन्ट्रक्सन इन्जिनियर लिला पुन शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार ती योजनाहरुमा करिब दुई करोड ४१ लाख खर्च भएको छ । साथै आगमी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा दुईवटा खानेपानी योजना संचालन गरिने उहाँले जानकारी दिनुभयो । नारच्याङको बेसी र लेखगाउँमा संचालन गरिने योजनाका लागि एक करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रष्टले खर्च गर्ने छ ।
गोर्खा वेल्फेर ट्रष्टको आर्थिक सहयोगमा कार्यक्रम संचालन भएका विभिन्न १६ वटा स्थानीय तहका प्रमुख र कर्मचारीहरुलाई अन्नपूर्णमा गाउँपालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो । उहाँले गोखो वेल्फेरको सहयोगमा पालिका भित्र खानेपानीको सुविधाबाट बञ्चित भएका वस्तीहरुमा सफा र सुद्ध खानेपानी उपलब्ध गराएको बताउनुभयो । कार्यशाला सम्मापन कार्यक्रममा अन्नपूर्ण गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरु अंकित माया चिनो सहभागिहरुलाई अध्यक्ष पुनले प्रदान गर्नुभएको थियो । कार्यशालाको दोस्रो दिन वडा नम्बर ६ खिबाङमा निर्माण भएको खिबाङ खानेपानी योजनाको स्थलगत रुपमा अवलोकन समेत गरिएको थियो ।