पाउद्वारको नेपानेमा बाेलेराे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ५ चैत्र २०८०, सोमबार
  • 6069 पटक पढिएको

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको यात्रुवाहक बोलेरो जीप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ । सडकदेखि करिब २०० मिटर तल खस्दा मुस्ताङको घाँसा घर भएका बर्ष ३५ का चालक गणेश श्रेष्ठ र पाउद्धारका स्थानीय २७ बर्षिय लालबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राती पोखरेबगरबाट पाउद्धार गाउँतर्फ गएको जीप गन्तव्यमा नपुगेपछि सोमबार विहान खोजविनको क्रममा स्थानीयले दुर्घटनामा परेको अवस्थामा फेला पारेका थिए । खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट आइतवार राती उक्त जीप पाउद्वार गाउँतर्फ लागेको थियो ।
स्थानीय वडासदस्य पूर्णबहादुर पाइजाका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट प्रहरी सहायक निरिक्षक बलबहादुर खड्काको नेतृत्वमा गएको टोलीले शब संकलन गरेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कुमार गुरुङको नेतृत्वमा गएको टोलीले घटनाको थप अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।