बेनीमा दुईदिने सिजनल पेन्सन शिविर सम्पन्न
- ४ चैत्र २०८०, आईतवार
- 115 पटक पढिएको
म्याग्दी । भूपू सैनिक कल्याकारी सेवा केन्द्र म्याग्दीको व्यवस्थापन तथा जिल्ला सैनिक वोर्ड म्याग्दीको आयोजनामा बेनीमा दुईदिने सिजनल पेन्सन शिविर सम्पन्न भएको छ । शनिबारदेखि जिल्ला समन्वय समितिको सभाहलमा सुरु भई आइतवार सकिएको शिविरमा जिल्लाका करिव १८ सय भूपू सैनिक र उनिहरुका आश्रीत परिवारले सेवा लिएका छन । ९९ वर्ष सम्मका भूपूहरुले शिविरबाट सहज रुपमा सेवा लिएका छन । बाग्लुङ तथा पोखरा गएर सेवा लिदा समय र खर्च समेत बढ्ने र वृद्ध अवस्थाका भूपूहरुलाई समस्या हुने भएकाले पनि बेनीम शिविर चलाईएको भूपू सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्या.मिन बहादुर कार्कीले जानकारी दिनुभयो । शिविरमा पेन्सनपत्ता नविकरण, अन्य कागजपत्र चेकजाँच तथा अध्यावधिक, वैँक खाता संचालन, विभिन्न तक्माहरु वितरण तथा आवश्यक परामर्श सेवाहरु उपलब्ध गराईएको अध्यक्ष कार्कीले बताउनुभयो । सोही अवसरमा आईतवार पेन्सन वितरण कार्यालय पोखराका प्रमुख कर्नेल प्रशान्त वगेल संग स्वागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष कार्कीले कार्यालय भवन निर्माणका लागि जग्गा तथा वजेट व्यवस्थापनको माग गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कर्नेल वगेलले भारतमा नेपाली सैनिकहरुले देखाएको विरताको प्रंशसा गर्दै दुईदेश विचको सम्वन्धलाई प्रगाढ बनाउन भूपू सैनिकहरुको उल्लेख्य भूमिका रहेको बताउनुभयो । उहाँले दुई देशको फरक व्यवस्थाले गर्दा भूपूहरुको पेन्सन सम्वन्धी डकुमेन्टमा समस्या उत्पन्न भएको बताउनुभयो । ‘भर्ति हुँदाको समय र रिटाएर भएर नेपाल फर्किएपछिको प्रशासनिक डकुमेन्टमा नाम, थर लगायत अन्य विवरणहरु फरक पर्दा समस्या देखिएको छ, त्यसलाई दुवैदेश मिलेर सहज बनाउन आवश्यक छ’, बगेलले भन्नुभयो ।
उहाँले जिल्लामा भूपू सैनिकको कार्यालय संचालनका लागि भवन निर्माण गर्ने सरकारी स्तरबाट जग्गा व्यवस्थापन हुन सके बजेटको व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भूपू सैनिकहरुका लागि कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने विषयमा छलफल अगाडी बढाईने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भूपूहरुले विभिन्न सिफारिसहरु लिन आउँदा कागजपत्र पुरा नगरि आउने, विमाको कार्ड नविकरणमा पनि प्रक्रिया नपुगेको देखिने, नागरिकता र पेन्सनपत्तामा नाम,थर फरक पर्ने लगायतका समस्या जिल्लामा देखिएको उल्लेख गर्नुभयो । जिल्लाका सरोकारवाला तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको कार्यक्रम सेवा केन्द्रका अध्यक्ष क्या.कार्कीको अध्यक्षता र सचिव खुम बहादुर बानियाँको संचालनमा सम्पन्न भएको थियो ।