म्याग्दीमा पूर्वाधार विकासका साझा योजनामा सामूहिक प्रतिवद्धता

  • २ चैत्र २०८०, शुक्रबार
  • 189 पटक पढिएको

म्याग्दी,चैत २ गते । म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नवौं जिल्ला सभामा सहभागि भएका संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न जिल्लाका योजनाहरुलाई गौरबको योजनाका रुपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था मिलाउन समेत संघ र प्रदेश सरकारलाई राजनीतिक दल र जनप्रतिनिधिहरुले अनुरोध गरेका छन् ।

जिल्ला समन्वय समितिको नवौं जिल्ला सभामा सहभागि राजनीतिक दल,जिल्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा एवम् प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले सामुहिक रुपमा जिल्लाको विकास योजनालाई प्राथामिकरण गरेर २७ वटा साझा योजनाहरु तय गर्दै सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन ।

संघ र प्रदेश सरकारसँग बजेट माग गर्दा प्राथामिकरण गरेका साझा योजनालाई आधार मानेर माग गर्नुपर्ने जिल्ला सभाबाट निर्णय समेत गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘संघ र प्रदेशमा सरकार फेरबदल भइरहने अवस्थाका कारण जिल्लाको विकास निर्माणमा असर नपरोस भनेर राजनीतिक दल र जनप्रतिनिधिहरुले गौरबका योजना छनौंट गरेर सामूहिक प्रतिवद्धता व्यक्त गरिएको हो ।’’

 

जिल्लाको रणनैतिक महत्वका एघार वटा सडक योजना,पर्यटन प्रवद्र्धनका नौ वटा,सडक पुलका ४ वटा,खानेपानीका २ वटा र खेलकुद क्षेत्रको विकासका लागि एक वटालाई साझा योजनाका रुपमा तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जिल्ला सभा मार्फत हामीहरुले म्याग्दीको विकासका लागि योजनाहरुको प्राथामिकरण गरेका छौं । प्रदेश र संघ सरकारसँग साझा योजनालाई आधार मानेर बजेट विनियोजन गर्न पहल गर्दछौं ।’’

बेनी–दरबाङ–ताकम–मुना जलजला ढोरपाटन सडक,बेनी–पाखापानी–ठाडाखानी–कुइनेमंगले सडक,महाभिर –दोसल्ले–रिम–राम्चे–नांगी सडक र दरबाङ–अधिभारा–डाँडागाउँ–लाममेला–बुर्तिबाङ सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न पहल गर्ने जिल्ला सभाले निर्णय समेत गरेको छ ।

यस्तै गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा चिमखोला घ्यासीखर्क सडक,बेनी–दरबाङ–मुना–लुलाङ–गुर्जा हुँदै डोल्पा जोड्ने सडक,बावियाचौर–पोक–गहते नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी पोखेर–पिङ्गे–आर्वाङ–भित्रीवन–झाक्रीपानी–किमचौर हुँदै ताराखोला जोड्ने सडक,पिप्ले–भगवती–बेग सडक र सिम–कोत्राबाङ–खुम्ल्याहा–पैयुपाटा–कुँहुँ–पूर्णगाउँ–टोड्के सडक र नाँगी–हिस्तान –घराम्दी –खिवाङ्–घोडेपानी–चित्रे –स्वात–पाउद्धार –नारच्याङ हुँदै मुस्ताङको घाँस जोड्ने बैकल्पिक सडकलाई प्राथमिकतामा राखेको जिससले जनाएको छ ।

बेनीको खुल्ला मञ्चलाई व्यवस्थित बनाउने,कालिगण्डकी बैंसरी सडक मोटरेबल पुल,मंगलाघाट–बगरफाँट मोटरेबल पुल,कालाबाङ मोटरेबल पुल र सिंगा–आखेबगर मोटरेबल पुल निर्माणलाई साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ । भगवती पिप्ले बृहत खानेपानी योजना र मंगलाको रणबाङ खानेपानी योजनालाई समाबेश गरिएको छ ।

बेनीमा निर्माणधिन रावणपार्क,अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण,सोलेडाँडा पर्यटन पूर्वाधार निर्माण,धौलागिरी आइसफल पदमार्ग,धौलागिरी सन्चुरी पदमार्ग,सिमलचौर–लामोछहरा–टोड्के–पर्यटन पूर्वाधार,गुरिल्ला पदमार्ग,बेनी शान्ति पार्क,म्याग्दी र कालीगण्डकी नदीमा बेदबार निर्माण गरेर तलाउ बनाउने योजना समाबेश गरिएको छ ।

जिल्लाको विकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरुको साझा प्रतिवद्धताले प्रदेश र संघ सरकारसँग बजेट माग गर्न सहज हुने गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

प्रदेश सभा सदस्य विमला गौचनले जिल्लाको विकासका लागि गौरबका योजनाहरु छनौंट गरी सामूहिक प्रतिबद्धताले जिल्लाको विकासको खाका कोर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

दुईदिन सम्म संचालन भएको जिल्ला सभामा जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण गरेका थिए ।

शुक्रबार सम्पन्न भएको जिल्ला सभामा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघीय र प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख,उपप्रमुख,विभिन्न विषयगत कार्यालयका प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला सभाको उद्घाटन बिहिबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा( खमबीर) ले गर्नुभएको थियो ।

यस्ता छन्् जिल्ला सभाका निर्णयहरु
निर्णय नं. १
जिल्ला समन्वय समिति म्याग्दीका हालसम्मका निर्णयहरु अनुमोदन गर्ने ।
निर्णय नं. २
जिल्ला समन्वय समिति म्याग्दीको अनुगमन तथा मूल्याङ्कन कार्यविधि २०८० पारित गर्ने ।
निर्णय नं. ३
आगामी आ.व देखि स्थानीय तहहरुको चौमासिक रुपमा समीक्षा र असल अभ्यास आदान प्रदान कार्यक्रम संचालन गर्ने ।
निर्णय नं. ४
गण्डकी प्रदेश र नेपाल सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समाबेश गर्न तथा म्याग्दी जिल्लाका निम्न योजनाहरुलाई जिल्लाको गौरवको योजनाको रुपमा मुख्य प्राथमिकतामा राखी बजेट विनियोजनको व्यवस्था गर्न संघ प्रदेश सरकारलाई अनुरोध गर्ने ।
प्राथमिकरण गरेका योजनाहरु
(१) बेनी–दरवाङ्–ताकम– मुना जलजला ढोरपाटन सडक
(२) बेनी –पाखापानी–ठाड़ाखानि –कुइनेमंगले सडक
(३) महभिर –दोसल्ले –रिम –राम्चे –नांगी सडक
(४) दरबाङ्– अधिभारा –डाडागाउँ –लाममेला –बुर्तिबाङ् सडक
(५) बेनी खेलमैदान (खुल्ला मंच)
(६) कालिगण्डकी – बैसरी सडक मोटेरेवल पुल
(७) मंगलाघाट – बगरफाट मोटरेवल पुल
(८ ) सिंगा –आखेबगर मोटरेवल पुल
(९ ) भगवती –पिप्ले बृहत खानेपानी योजना
(१० ) निर्माणाधीन रामायण पार्क ( बेनी नगरपालिका)
(११ ) अन्नपूर्ण बेसक्याम्प पूर्वाधार निर्माण
(१२ ) सोलेडाँडा पर्यटन पूर्वाधार निर्माण, मालिका गाउँपालिका
(१३ ) धौलागिरी आईसफल पदमार्ग ( गलेश्वर –गायत्री – पिप्ले –भगवती– रुईसे–भेडीओडार–काठेढुङ्गा – भैसिखर्क –मुलिबुकि –कालीबराह –धौलागिरी आइसफल)
(१४) धौलागिरी सेन्चुरी पदमार्ग ः हुलाकचोक –पौलत्स्य–गाजने टोड्के –भेडीखाल्टा हुदै चौराखानी –घ्यासी –पात्लेखर्क–रिखार धौलागिरी आइसफल ( ६ वटै स्थानीय तह समेटिएको )
(१५ ) कालाबाङ मोटरेवल पुल
(१६) गलेश्वर –मौवाफाट–दग्नाम –दर्मिजा चिमखोला घ्यासिखर्क सडक
(१७) बेनी –दरबाङ –मुना लुलाङ् –गुर्जा–डोल्पा– सडक
(१८ ) मालिका –रुम –देवीस्थान –पन्थोक –जुग्जा –मुनामालिका –जलजला –गुर्जा –रुघाचौर –गुर्जा मुदी –धौलागिरी बेसक्याम्प गुरिल्ला पदमार्ग
(१९ ) बाबियाचौर –पोक –गहते नेटा–अर्मन –किमचौर –ताराखोला सडक
(२० रनबाङ् खानेपानी ,मंगला गाउँपालिका
(२१) सिमलचौर –लामोछहरा –टोड्के –पर्यटन पूर्वाधार,मंगला गाउँपालिका
(२२ ) सिम –कोत्राबाङ्–खुम्ल्याहा – पैयुपाटा –कुहुँ– पूर्णगाउ –टोड्के सडक
(२३) पिप्ले –भगवती बेग सडक, रघुगंगा गाउँपालिका
(२४) शान्ति पार्क ,बेनी नगरपालिका
(२५) म्याग्दी काली नदी (बेदवार) तलाउ
(२६) पखेर –पिङ्गे –आर्वांङ्– भित्रिबन –झाक्रिपानी –किमचौर ताराखोला सडक
(२७) नाँगी–हिस्तान –घराम्दी –खिवाङ्–घोडेपानी –चित्रे –स्वात –पाउदर –नारच्याङ–घाँस ( बैकल्पिक मार्ग )

निर्णय नं. ५
सन्तुलित र समन्यायिक विकासको अवधारणालाई आत्मसात गर्दै योजना निर्माण र कार्यान्वनमा प्रतिबद्द रहने ।
निर्णय नं. ६
बेनी अस्पताल भवन निर्माण, बेनी मालढुङ्गा सडक लगायतका लामो समयसम्म समपन्न हुन नसकेका आयोजनाहरुलाई यथाशक्य छिटो सम्पन गर्न सम्बन्धित पक्षसंग समन्वय गरी एकताबद्द रुपमा दवाव सिर्जना गर्ने ।
निर्णय नं. ७
जिल्लाको साझा हित आवश्यकताका आधारमा तयार पारिएका साझा आयोजनाहरुलाई प्राथमीकीकरणको आधारमा बजेट माग तथा कार्यान्वयनमा लैजान प्रतिबद्दता व्यक्त गर्ने ।
निर्णय नं. ८
म्याग्दी जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी तहका कार्यक्रमहरुको औपचारिक समारोहको संचालनमा छिटो छरितो र प्रभावकारी रुपमा संचालन गर्ने र अनाआव श्यक खर्चिलो प्रणालीलाई निरुत्साहित गर्ने ।
निर्णय नं. ९
जिल्ला स्थित शैक्षिक संस्थाहरुमा विधार्थीहरुको स्वास्थ्यलाई हितमा राखी जंक फुडको बिक्रिवितरण तथा प्रयोगमा रोक लगाउन प्रतिबद्दता व्यक्त गर्ने ।
निर्णय नं. १०
रघुगंगा र कालिगण्डकी नदीलाई सुकाई बेनी बजार र बेनी बजार क्षेत्रको सौन्दर्यतालाई मास्ने गरी बन्ने प्रकियामा रहेको बेनी कालिगण्डकी हाईड्रोलाई निर्माण कार्यमा रोक लगाउने साथै म्याग्दी जिल्लाका बिभिन्न ठाउँमा निर्माणाधीन हाईड्रोपावरहरुले मानव र जीव स्वास्थ्यमा प्रतिकूल नहुने गरी कार्य गर्न समन्वय र सहजीकरण गर्ने ।
निर्णय नं. ११
म्याग्दी जिल्ला हिमाली जिल्लाको रुपमा घोषणा भएतापनि कार्यान्वयनमा नआएकाले पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकारलाई एकताबद्द रुपमा दवाव सिर्जना गर्ने ।
निर्णय नं. १२
कालिगण्डकी करीडोर अन्तर्गत बेनी –जोमसोम– कोराला नाका सडक खण्ड समयमा नै समपन्न गर्न र उक्त सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो नियन्त्रण तथा दिगो व्यवस्थापनका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्न साथै कोराला नाका यथाशिघ्र संचालन गर्न नेपाल सरकारलाई अनुरोध तथा एकताबद्द रुपमा दवाव सिर्जना गर्ने ।