बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई जिल्ला सभामा सम्मान

  • १ चैत्र २०८०, बिहीबार
  • 363 पटक पढिएको

बेनी, १ चैत । म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा आर्थिक बर्ष २०७९÷०८० मा बेनी नगरपालिका कार्य सम्पादन सुचकहरुको आधारमा ६९ दशमलब २७ अंक प्राप्त गरी जिल्लामा उत्कृष्ट बन्न सफल भएको र गत आर्थिक बर्षमा नै गण्डकी प्रदेश सरकारको नमुना कार्यालय छनौट कार्यविधि अनुसार डिभिजन वन कार्यालय म्याग्दी उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, प्रदेशसभा सदस्य रेशम जुग्जाली र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले प्रसंसा पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले जिल्लामा भित्रिएको बजेटको प्रभाबकारी कार्यान्वयनमा जुट्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीबाट योजना कार्यान्वनयमा हुने ढिलासुस्ती र निर्माण व्यवसायीले गर्ने लापरवाहीले विकास निर्माणमा जनतामा आक्रोस बढेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रेशम जुग्जालीले जिम्मेवारीप्रति कर्तव्यबोध नगर्ने र व्यवस्थालाई गाली गर्ने कर्मचारीहरुले सरकारका काम कारबाहीलाई प्रभावित तुल्याउने गरेको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेल, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापति कवी भण्डारी, नेकपा माओवादी केन्द्रका नेता शेरबहादुर केसी लगायतले जिल्लाको विकास निर्माणका योजनामा देखिएको ढिलासुस्तीलाई हटाउनुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने गोष्ठिमा जिल्लामा रहेका स्थानीय तह, संघीय र प्रदेश सरकार मातहतका कार्यालयको बार्षिक समिक्षा समेत गरिने भएको छ