म्याग्दीका सबै पालिकामा नेकपा(एमाले)को नयाँ नेतृत्व चयन

  • १ चैत्र २०८०, बिहीबार
  • 531 पटक पढिएको

म्याग्दी,१ चैत ।म्याग्दीका ६ वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । गत माघमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको नयाँ नेतृत्वले कार्ययोजना नै बनाएर पालिका अधिवेशन सुरु गरेको थियो । बुधवार बेनी नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएसंगै एक नगरपालिका र पाँच गाउँपालिकामा पार्टीको नयाँ नेतृत्व चयन भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।


उहाँका अनुसार, जिल्लाका सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । एमाले बेनी नगर कमिटीको अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी चुनिएको छ । कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिबमा भोजबहादुर रिजाल, उप–सचिबमा सुनिता केसी र विवेक हमाल चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेकपा (एमाले)को अन्नपूर्ण गाउँपालिका कमिटीको अधिवेशनबाट धनकुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ । रघुगंगा गाउँपालिकामा झलक आचार्यको अध्यक्षतामा चुनिएको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिवमा तेजु शेरपुञ्जा, उप–सचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।

मंगला गाउँपालिकामा नेकपा (एमाले) को पालिका अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा चिरञ्जीवि शर्मा, सचिबमा चक्रलाल पाण्डे, उप–सचिबमा एकजित रोका र सरस्वती उपाध्य रहनुभएको छ । मालिका गाउँपालिकामा दलमान पुनको अध्यक्षतमा चयन भएको ३१ सदस्यीय कमिटीकोे उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उप–सचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।

धवलागिरि गाउँपालिकामा प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन हुनुभएको छ । गण्डकी प्रदेशमा पहिलो पटक जिल्ला अधिवेशन सम्पन्न गरेको एमाले म्याग्दीले जिल्लाका सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने देशभरकै पहिलो जिल्ला बनेको जनाएको छ ।

जिल्ला र पालिका अधिवेशन सम्पन्न गरेर वडा अधिवेशनमा जुटेको र आगामी जेठभित्र अवधि पुगेका जनसंगठनको समेत अधिवेशन सम्पन्न गर्ने गरि कार्ययोजना बनाएको एमाले म्याग्दीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।