परम्परागत चिनारीको संरक्षणमा जुटे ठाडाखानीका छन्त्याल समुदाय

  • १ चैत्र २०८०, बिहीबार
  • कमल खत्री
  • 2207 पटक पढिएको

म्याग्दी , १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय मौलिक चिनारीको रुपमा रहेका भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाम्दुलो, काम्लो, स्विटर, टोपी लगायतका मौलिक पोसाक हराएर जाने अवस्थामा पुगेपछि यहाँका छन्त्याल समुदाय संरक्षणमा जुटेका हुन् ।
पुर्खाहरुले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अंगालेकोमा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले उनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताउनुभयो । ‘‘ परम्परागत भेडाबाख्रा पालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लो लगायत लोप हुन लागेका छन, हामीले पुख्र्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ’’– उहाँले भन्नुभयो ।
भेडाबाख्रा पाल्दै आउनुभएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताउनुभयो । घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रमहरुमा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र उनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाहरुको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।
ठाडाखानीमा अहिलेपनि भेडाबाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब १५ सयको हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊनकाढेर उनलाई प्रसोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा संकटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै बर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेहरुले अधिक मात्रामा प्रयोग गर्ने चलन रहेको छ ।
भेडाबाख्राको ऊनलाई प्रसोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटर लगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक संगसंगै पुख्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्से लगायतका सामान लाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताउनुभयो । पुर्खाहरुले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उहाँको भनाई छ ।
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासीन्दाले भेषभुषा , पेसा र सिपसंगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीय स्तरमा छन्त्याल खाम भाषालाई बोलिचालीको प्रचलनमा ल्याएका छन भने पुख्र्यौली सोरठी, मादले मारुनी लगायतका नाचहरुलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिहरुको स्वागतमा मौलिक पुख्र्यौली नाचले स्वागत गर्ने गरिएको रघुगंगा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।
‘‘ पुख्र्यौली र परम्परालाई मासिन नदिन हामीले अग्रसरता लिएका छौँ, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन, यसले छन्त्याल समुदायको कला, संस्कृती र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ’’–वडा सदस्य छन्त्यालले भन्नुभयो । वडा कार्यालयले समेत मौलिक भेषभुषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ । रासस

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l