नेकपा(एमाले) बेनी नगर कमिटीको नयाँ नेतृत्व चयन, अध्यक्षमा कटुवाल

  • ३० फाल्गुन २०८०, बुधबार
  • 111 पटक पढिएको

म्याग्दी, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीमा बेलबहादुर कटुवालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चुनिएको छ । बुधवार सम्पन्न दोस्रो नगर अधिवेशनबाट कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिबमा भोजबहादुर रिजाल, उप–सचिबमा सुनिता केसी र विवेक हमाल चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो । विभिन्न संघ संस्थाको नेतृत्व गरिसक्नुभएका नवनिर्वाचित कमिटीका अध्यक्ष कटुवाल म्याग्दी उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । पदाधिकारीहरुमा एक भन्दा बढीको मनोनयन दर्ता भएपनि छलफल गरेर सहमतीमा नयाँ कमिटी चुनिएको कमिटीका निवर्तमान अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । अधिवेशनको नेकपा एमालेका नेता तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । 
बेनी नगरपालिका कमिटीको अधिवेशनसंगै एमाले म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । गत माघमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको नयाँ नेतृत्वले कार्ययोजना नै बनाएर पालिका अधिवेशन सुरु गरेको थियो । बुधवार बेनी नगरपालिकाको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेसंगै एक नगरपालिका र पाँच गाउँपालिकामा पार्टीको नयाँ नेतृत्व चयन भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।