धवलागिरि माविमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

  • ३० फाल्गुन २०८०, बुधबार
  • 149 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दी जेसीजको आयोजनामा बेनी नगरपालिका–४ सिंगा स्थित धवलागिरि माध्यमिक विद्यालयमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित उक्त कार्यक्रममा ८९ जना छात्र,१०० जना छात्रा र २२ जना शिक्षक समेतको गरि कुल २११ जनाको आँखा जाँच गरिएको कार्यक्रमका संयोजकसुस्मिता थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष समेत रहनुभएका नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र अधिकृत दिनेश बानियाँले आँखा जाँच गर्नुभएको थियो । शिविरमा विद्यार्थीहरुको दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृष्टी नसा,रेटिना लगायतको जाँच गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिका–४ का वडा अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले विद्यालयमै आएर विद्यार्थी र शिक्षकहरुको आँखा जाँच गरेकोमा म्याग्दी जेसीजलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
त्यसैगरि नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठले १८ बर्ष देखि ४० बर्ष भित्रका युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा सक्रिय रहेको जेसीजले म्याग्दीमा सामाजिक क्षेत्र, खेलकुद, कला संस्कृति र पर्यटन प्रवद्र्धनको क्षेत्रमा रचनात्मक भूमिका खेल्दै आएको बताउनुभयो ।