महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचर)
- २५ फाल्गुन २०८०, शुक्रबार
- 789 पटक पढिएको
म्याग्दी , २५ फागुन । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।
मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण धार्मिक स्थलको रुपमा परिचित छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि अवस्थित गलेश्वर शिवालयमा भगवान शिबको पूजा आराधना र १०८ शिबलिङ्गमा जल अर्पणका लागि विहानैदेखि भक्तजनको भिड लागेको र लाइनमा बसेर पुजा गर्ने प्रवन्ध मिलाईएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, रुपन्देही, स्याङ्जा, काठमाण्डौ, लगायतका ठाउँबाट भक्तजनहरु आएका छन् । शिवरात्री पर्वको पूजालाई व्यवस्थित गर्न विभिन्न २४ वटा उपसमिति गठन गरी स्वंसेवक परिचालन गरेर सहज रुपमा पूजा आराधना र दर्शन गर्ने प्रवन्ध मिलाईएको क्षेत्रविकास कोषले जनाएको छ । गलेश्वरमा विहान पाँच बजेदेखि नै भक्तजन आएका थिए । विगतका बर्षको तुलनमा यस बर्ष अत्यधिक धेरै भक्तजनहरु आएको क्षेत्रविकास कोषले जनाएको छ । शुक्रवार गलेश्वरमा करिब २५ हजार भक्तजनले पुजा आरधना र दर्शन गर्ने अनुमान गरिएको छ । गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समुहले स्वयंसेवकको रुपमा सहजीकरण गरेका छन् ।