आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

  • २५ फाल्गुन २०८०, शुक्रबार
  • कमल खत्री
  • 1185 पटक पढिएको

म्याग्दी , २५ फागुन । गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आज सम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घरहरु रहेको कुइनेखानी आफैमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केहि बर्ष अघि सम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले करिब ४५ घरधुरीको मात्रै बसेबास गर्छन ।
बसाइँसराइको कारण गाउँ युवा विहिन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगेपनि अन्य सुविधा पुग्न नसक्दा हरेक बर्ष गाउँबाट बसाइँ सर्नेहरु बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताउनुभयो । ‘‘विकास भनेको यहि मोटरबाटो हो, यो पनि आएको जम्मा दुई बर्ष भयो, सडक आएपनि अरु विकास गाउँमा आउँदैन, यो लेकमा कस्ले हालिदिन्छ र बजेट, यसअघि त सदरमुकाम जान पनि दिनभर पैदल हिड्नुपर्ने बाध्यत थियो’’– छन्त्यालले भन्नुभयो ।
गाउँमा कच्ची सडकको पहुँच पुगे पनि यो स्तरीय छैन् । गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी रु १ हजार २०० भाडा लाग्छ । गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायतको सुविधा भरपर्दो र गुणस्तरीय छैन् । भौगोलिक रुपमा विकटता रहेको र छरिएका गाउँ बस्तीको कारण रघुगंगा गाउँपालिकाको वडा नम्बर ८ कुइनेमंगलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ । यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ । छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिलेपनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चाल नहुँदै आएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएसंगै गाउँमा भौतिक पूर्वााधारको क्षेत्रमा विकासका गतिविधि अघि बढेपनि बसाँइसराइ रोकिएको छैन् । विकास गाउँ भित्रदै छ, तर कुइनेखानी गाउँ रित्तिने क्रम बढ्दै गएको छ । आधारभूत स्वास्थ्य सेवालिन समेत दिनभरको पैदल यात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसंगै हटेको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेपछि सामान्य विरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ ।
अहिले गाउँ छाड्ने अधिकाँश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन् । मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ । वैदेशिक रोजगारमा गएकाहरुले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसंगै गाउँमा विद्यालय खाली हुँदै गएको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी संख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर पाँच कक्षा सम्म मात्रै पठनपाठन गराउन थालिएको छ । स्तरिय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसंगै गाउँको स्कुल खाली हुँदै गएको रघुगंगा गाउँपालिका–८ का वडा सदस्य चबहादुर छन्त्यालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको तर्फबाट सदस्य समेत रहनुभएका छन्त्यालले अंग्रेजी माध्ययमको शिक्षा लिने लहडले आर्थिक रुपमा सक्षम भएका परिवारले सहरमा पठनपाठन गराउने प्रवृति बढेको बताउनुभयो । ‘‘ आर्थिक अवस्था राम्रो भएकाले बोडिङ्गमै पढाउन लौजान्छन, गाउँको स्कुल भौतिक रुपमापनि पुरानो र जिर्ण हुँदै गएको छ, स्कुल खाली हुने अवस्था आइसकेको छ,’’– उहाँले भन्नुभयो । यस विद्यालयमा अहिले जम्मा १५ जना बालबालिका अध्ययनरत रहेका छन् । कक्षा पाँचमा विद्यार्थी सख्ंया शुन्य रहेको छ । केन्द्रिय विद्युतिकरण नपुगेको यस गाउँमा स्थानीय लघुजलविद्युतबाट विद्युत सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झण्झट हैरानी व्यहोर्नुपरेको छ । पुख्र्यौली रुपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको थियो । तामा खानीको प्रख्यात ठाउँको रुपमा चिनिएको कुइनेखानीमा तत्कालिन समयमा तामाको प्रशोधन र विक्रिका लागि विश्वकर्मा र थकाली जातिको समेत केहि घरधुरीको बसोबास रहेको पाइन्छ ।
खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसंगै गाउँको बसोबास घट्दै गएको स्थानीय नरमान छन्त्यालले बताउनुभयो । ‘‘ खानी बन्द भएपछिको पुस्ता भारतीय सैनिकमा भर्ति हुने लहर चल्यो, उनीहरुको आर्थिक स्थितिमा सुधार भएपछि अधिकाँश लाहुरेहरुले गाउँबाट बेनी, पोखरा, वुटवल, दाङ, भैरवालगायतका ठाउँमा बसाइ सारेका छन्, गाउँबाट सहरमा सर्नेक्रम अझै छ’’– उहाँले भन्नुभयो । गाउँमा अहिले बुढापाका र महिलाहरु र विदेश जाने प्रयासमा रहेका केहि युवाहरु मात्रै छन् ।
स्वदेशमा रोजगारको अवसर नभएपछि युवायुवतिहरु विदेश पलायन हुने र आर्थिक रुपमा बलियो बन्न थालेपछि सहर झर्ने क्रमले गाउँमा बृद्धबृद्धाहरु मात्रै रहने अवस्था आएको स्थानीय ७७ बर्षिय टिकाबहादुर विश्वकर्माले बताउनुभयो । ‘‘ गाउँ त खाली हुँदै गयो, युवाहरु लाहुर लागे, हुनेखानेहरु सरेर गए, बुढापाका मरेर गए हाम्रो पुस्तापछि गाउँमा को रहलान र ?’’– उहाँले भन्नुभयो । गाउँको खेती योग्य जमिन बाझो रहन थालेको छ । आलु, कोदो, मकै, जौ, गहुँलगायतका खाद्यबाली घट्दो क्रममा छ ।
केहि बर्षपछि यहाँका जनताले वनजंगल र झाडी भरिएको जग्गाको तिरो तिरेर मात्रै बस्नुपर्ने अवस्था आउने विक बताउनुहुन्छ । कुइनेखानीबाट पुतलीडाँडा सिङ्कोस बगर हुँदै धौलागिरि आधार शिविर र झिरवारी, भालीचुली, च्यमलीबुकी, रुवाचौर हुँदै आइसफलतर्फको धौलागिरि आधार शिविर पुग्न सकिन्छ । रैथाने परम्परागत जनजीवन र संस्कृति संगै यहाँ रहेका पर्यटन सम्भावनाको उजागर गर्न सकेमा कुइनेखानीलाई पर्यटन विकासका माध्ययमबाट विकसित, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्थानीयबासी बताउँछन् । रासस

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l