सङ्ग्रहालय बन्यो पर्यटकको आकर्षण (तस्बिर सहित)

  • २३ फाल्गुन २०८०, बुधबार
  • कमल खत्री
  • 175 पटक पढिएको

बेनी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मीक पर्यटकीय स्थल करबाकेलीमा सञ्चालनमा आएको सङ्ग्रहालय पर्यटकको आकर्षण बनेको छ । करबाकेली ट्रेक हुँदै भ्रमणमा आउने पर्यटकहरुको लागि प्राकृतिक सौन्दर्य संगै ‘पुन समुदायको सङ्ग्रहालय’ मुख्य आकर्षण बनेको हो ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण भएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिक रुपमा भ्रमणमा आउने पर्यटकहरुले रुचिका साथ अवलोकन गर्ने गरेको करवाकेली थान संरक्षण समितिका सचिब रबि गर्वुजाले बताउनुभयो । ‘‘धौलागिरि र अन्नपूर्ण हिमशृङखलाका दर्जनबढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकको लागि थप आकर्षण बनेको छ’’– उहाँले भन्नुभयो ।
मौलिकता झल्कने गरि करिब रु ८५ लाखमा निर्माण भएको यस सङ्ग्रहालय बनाउन अन्नपूर्ण गाउँपालिकाले रु ७ लाख र प्रदेश सरकारले रु पाँच लाख बजेट उपलब्ध गराएपनि अन्य सबै बजेट सहयोग मार्फत जुटाईएको थियो । दुई तला भएको सङ्ग्रहालयमा पुन समुदायका कला, संस्कृति, परम्परा, रहनसहन , जीवनशैलि, पहिचान झल्कने सामाग्री संकलन गरेर राखिएका छन् ।
यहाँ आउने सबै पर्यटकहरुले सङ्ग्राहलयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेली थानका कर्मचारी चन्द्र बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, यस सङ्ग्रहालयमा पर्यटकका लागि रु १५० र स्थानीयबासीका लागि रु ५० प्रवेश शुल्क लिने गरिएको छ । विद्यार्थी, बालबालिका, बृद्धबृद्धा र पत्रकारहरुको लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
सङ्ग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिँकी, जाँतो , मौलिक पहिचान झल्कने पोशाक, हात हतियार, भाँडा, गहनालगायतका सामग्रीले पर्यटकहरु आकर्षित हुने गरेका छन् । सङ्ग्रहालयमा राखिएका सामाग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने र अध्ययन स्थलको रुपमा लिन सकिने बेनीबाट पहिलो पटक करबाकेली पुग्नुभएका रमेश शर्माले बताउनुभयो ।
ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले सङ्ग्रहालय भवन निर्माण भएको छ । करबाकेली थान परिसरमा निर्माण भएको सङ्ग्रहालयले परम्परागत र हराएर जाने अवस्थामा पुगेका सामाग्रीको संरक्षणसँगै पर्यटन आकर्षणमा समेत सहयोग पुगेको सहयोग पुगेको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । रासस   

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l