जोमसोम-पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

  • २० फाल्गुन २०८०, आईतवार
  • 203 पटक पढिएको

म्याग्दी- जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि सञ्चालनमा आएको छ । पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो ।

गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले शुक्रबारदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो ।

मङ्सिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम–पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ । “मौसममा सुधार र पर्यटकीय याम सुरु भएकाले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो”, विमानस्थलका प्रमुख शाहले भन्नुभयो, “सुमित एयरलाइन्सले शुक्रबार दुई उडान भरेको छ ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी-जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले बताउनुभयो ।