म्याग्दीको उद्योग बाणिज्य संघको १२ औँ अधिवेशन सुरु (तस्बिर सहित)

  • १९ फाल्गुन २०८०, शनिबार
  • 464 पटक पढिएको

म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारहरुबिचमा समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीहरुले अलझन व्यहोर्नु परेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक बर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धी हुने विचार व्यक्त गर्नुभयो । म्याग्दी पर्यटन, जलविद्युत र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना र जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । कालीगण्डकी कोरिडोर आयोजनालाई सम्पन्न गर्न र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि महासंघले सरकारलाई निरन्तर माग गर्दै आएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्दराम मुल्मी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतले भारत र चिन जोड्ने छोटो दुरीको कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिका लागि सञ्चालित योजनालाई जति सक्दो छिटो पूर्णता दिन सकेमा यसबाट चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी र भारतीय हिन्दुधर्मावलम्बीलाई मानसरोबार जाने आउने मार्गका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
संविधान सभा सदस्य नवराज शर्मा र गोविन्द पौडेलले म्याग्दीको जलविद्युत, पर्यटन, कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी र बिमला गौचनले म्याग्दीका विकास निर्माणका कामलाई तिब्रता दिनुका साथै निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, नेपाली काँग्रेसका उपसभापती हरिकुमार श्रेष्ठ, लगायतले म्याग्दीमा पर्यटक भित्र्याउने र भुलाउने योजना र कार्यक्रममा निजी क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभएको थियो । संघका अध्यक्ष बेलबहादुर कटुवालले संघको गतिविधि र म्याग्दीमा उद्योग व्यवसायको अवस्था र सम्भावनाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारिता मार्फत म्याग्दीको विकास र समृद्धिमा योगदान दिएको भन्दै म्याग्दीअनलाइनका सम्पादक कमल खत्री सहित पत्रकार ठाकुर प्रसाद आचार्य र प्रकाश पौडेललाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दी उद्योग बाणिज्य संघको हितकोषमा नगद रु १ लाख र महिला उद्यम विकास समितिले माघे संक्रान्ति मेलामा बचत गरेको रु १ लाख समेत हितकोषमा प्रदान गरिएको थियो । उक्त अवसरमा संघले विभिन्न क्षेत्रका व्यक्ति र सहयोगी संघ संस्थाहरुलाई सम्मान समेत गरेको थियो । नयाँ नेतृत्व चयनका लागि अहिले अधिवेशनको बन्दसत्र सुरु भएको छ ।