हिमाली जिल्लाको सुविधा र मध्यपहाडी लोकमार्गबारे सांसद गर्बुजाद्धारा प्रधानमन्त्रीको ध्यानकर्षण
- ६ फाल्गुन २०८०, आईतवार
- 377 पटक पढिएको
बेनी, ६ फागुन । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले म्याग्दीले हिमाली जिल्लाको सुविधा नपाएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्वुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन नसकेको भन्दै ध्यानकर्षण गराउनुभएको थियो । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, पुठा, बराहशिखर लगायतका आधा दर्जन हिमाल र चार दर्जन बढी हिमचुचुराले समेटिएको म्याग्दीलाई सरकारले २०७५ फागुन १९ मा राजपत्रमा प्रकाशित गरी २१ औं हिमाली जिल्ला घोषणा गरेको थियो ।
सांसद गर्वुजाले मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्गको रुपमा रहेको बेनी–दरबाङ– ढोरपाटन जोड्ने सडक बागलुङबाट भन्दा ७० किलोमिटर छोटो हुने भएपनि सरकारले सडक निर्माणमा ध्यान नदिएको, विटिस भुपु सैनिकको पेन्सन र तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने विषयमा समेत प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभयो ।
सांसद गर्वुजाको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहालले म्याग्दी लगायत हिमाली जिल्लामा सूचिकृत भएका जिल्लाहरुमा राज्यले दिने सेवा र सुविधामा सहुलियत दिने कुरामा सरकार सकरात्मक रहेको जवाफ दिनुभएको थियो । प्रधानमन्त्री दाहालले मध्यपहाडीको बैकल्पिक सडक बनाउने प्रकृया अघि बढ्दै गरेको जानकारी दिनुभएको थियो । उहाँले सेवानिवृत्त नेपाली विट्रिस गोर्खा सैनिकले बेलायसी सैनिक सरह पेन्सन पाउनुपर्छ भन्ने बिषयमा कुटनिटीक पहल र प्रयास भैरहेको जवाफ दिनुभएको थियो । उहाँले विदेशमा बस्ने नेपाली मुलका नागरिकलाई आर्थिक, सामाजिक साँस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सुरु भैसकेको बताउनुभयो ।