मोना स्पेनद्धारा विपन्नको उपचारमा रु १ लाख ८१ हजार बढी सहयोग प्रदान
- २४ माघ २०८०, बुधबार
- 366 पटक पढिएको
म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले जिल्लाका विभिन्न ठाउँका विरामीको उपचारको लागि रु १ लाख ८१ हजार बढी सहयोग गरेको छ । मोना स्पेनले म्याग्दीको रघुगंगा गाउँपालिका–६ का क्यान्सर पीडित गनबहादुर शेरपुजा, बेनी नगरपालिका–३ भकिम्लीका मृगौला पीडित स्मृति छन्त्याल पुन र बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पीडित मनिसा पाईजा (मोनीका)को उपचारमा रु ४५ हजार तीन सयका दरले आर्थिक सहयोग गरेको हो ।
त्यसैगरि प्यारालाइसेस विरामी भएर उपचारकै क्रममा मृत्युवरण गरेका रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका दिपक छन्त्यालको परिवारलाई समेत नगद रु ४५ हजार तीन सय सहयोग गरिएको छ । उक्त सहयोग रकम बुधवार बेनीमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा मोना स्पेनका महासचिब प्रबिण सुवेदी र समन्वयकर्ता रघुगंगा गाउँपालिकाका सामाजिक विकास समितिका सभापति एवम वडा नम्बर ६ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जा मार्फत विरामीका आफन्तहरुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । स्पेनमा रहेका म्याग्देलीहरुबाट सहयोग जुटाएर उक्त सहयोग गरिएको मोना स्पेनले जनाएको छ ।