बिकु फ्यामिलि कालोलाई उपाधि

  • २० माघ २०८०, शनिबार
  • 1061 पटक पढिएको

म्याग्दी,माघ २० गते । बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो ।

माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार केन्द्र बागलुङलाई २–१ गोलले पराजित गर्दै एभरग्रिन क्लब बेनीले तेश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको पहिलो हुने बिकु कालोले एक लाख ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । दोश्रो हुने बिकु सेतोले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गरेको एभरग्रिन क्लब बेनीले २२ हजार दुई सय २२ रुपियाँ पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेल क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी खेलाडीले म्याग्दीको बेनीमा आएर आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । प्रतियोगितामा बिकु फ्यामिलिका तर्फबाट अफ्रिका महादेशको नाइजेरीयन खेलाडी अलु ओलासले पनि प्रतियोगितामा सहभागिता जनाएको भुजेलले बताउनुभयो ।

प्रतियोगितामा फेयर प्ले अवार्ड प्राप्त गरेको कालिपुल युनाइटेड क्लबले नगद आठ हजार आठ सय ८८ रुपियाँ तथा ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा बिकु सेतोका किपर प्रमेश्वर कार्की उत्कृष्ट गोलकिपर, बिकु कालोका पुरन छन्त्याल उत्कृष्ट डिफेन्डर, बिकु कालोका बिकास लामाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रतियोगिताभर ४ गोल गरी सर्वाधिक गोलकर्ता विकु कालोका दिनेश घर्ती मगर हुनुभएको छ ।

प्रतियोगिताको समापनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले खेलकुद क्षेत्रमा महिला उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले मैदानमा खेलकुद हुँदै गर्दा नाचगानमा मात्रै महिलाहरुको प्रयोग तथा उपस्थिति भएको भन्दै चिन्ता जनाउनु भएको थियो । उहाँले अर्को वर्ष विकु फ्यामिलिले महिलाको प्रतियोगिता आयोजना गर्नु पर्ने भन्दै अर्को पटक मैदानमा नारीको उपस्थिति हेर्ने आफ्नो चाहना रहेको धारणा राख्नु भएको थियो ।

बिकु फ्यामिलिका अध्यक्ष  सफल बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन सुमित सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा एन्फा म्याग्दीका अध्यक्ष कुमार बानियाँ, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङलगायतले मेडल, ट्रफि तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।