एमाले म्याग्दीको दशौँ अधिबेशनको तयारी अन्तिम चरणमा

  • ११ माघ २०८०, बिहीबार
  • 929 पटक पढिएको

म्याग्दी, ११ माघ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । माघ १२ र १३ गते बेनीमा हुने अधिवेशनले जिल्ला कमिटिको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले अधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको काम सकिएको र आन्तरिक व्यवस्थापन लगायतको काम भैरहेको जानकारी दिनुभयो । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिनेछन् । समावेशीमा छुटेकाहरुलाई जिल्ल कमिटीले १२ जना प्रतिनिधि मनोनित गर्ने व्यवस्था समेत रहेको छ । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट प्रतिनिधि छनौट सकिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

दशौँ अधिवेशनका लागी “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ । अधिबेशन सफल बनाउनका लागी विभिन्न ७ वटा उपसमिति गठन गरेर अधिवेशनको तयारी तिब्र पारिएको एमाले म्याग्दीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्रलाई नेकपा एमालेको महासचिब शंकर पोखरेलले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा हुने जनाइएको छ ।