हिमपात र बर्षा भएपछि कृषकमा खुसीयाली
- १० माघ २०८०, बुधबार
- 995 पटक पढिएको
बेनी, १० माघः म्याग्दीमा हिमपात र बर्षा भएपछि कृषकहरुमा खुसीयाली छाएको छ । बुधवार यो बर्षको हिउँदयाममा पहिलो पटक बर्षा र हिमपात भएको हो । लामो समयदेखि बर्षा नहुँदा गहुँ, जौ, आलु लगायतका हिउँदेबालीमा सिंचाई गर्न नपाएका कृषकहरु तल्लो भेगमा बर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।
गहुँ, आलु लगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको रघुगंगा गाउँपालिका–३ का कृषक तुलबहादुर केसीले बताउनुभयो । ‘‘खेतवारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भएपनि बर्षा भयो राम्रो भयो’’–उहाँले भन्नुभयो ।
म्याग्दीको उच्च पहाडी क्षेत्रमा बुधवार साँझदेखि हिमपात भैरहेको छ । गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमंगले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीहरुमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढार लगायतका ठाउँहरुमा समेत हिमपात भएको छ ।
यो बर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा कृषकहरुलाई राहत भएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो । हिउँदको सुख्खायाममा हिमपात हुँदा खेतीबालीमा मलजलको लागि उपयुक्त हुने कृषकहरु बताउँछन् । बर्षासंगै हिमपात भएपछि म्याग्दीको सबै क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।