गोरखाका घले र म्याग्दीका तुलाचनलाई मितेरी जोड्ने गोठ
- १० माघ २०८०, बुधबार
- 595 पटक पढिएको
म्याग्दी (बेनी), १० माघ : गोरखाको बारपाक घर भएका ७१ बर्षका समशेर घले र म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका ७० बर्षका हिराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जिविकोपार्जनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका– ५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसी पालन गर्दै आउनुभएका तुलाचनसंग मीत लगाउनुभएको हो ।
कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जिविका चलाउँदै आउनुभएका घले करिब ८ महिना अघि मात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिनुभएको थियो । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहार सुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेटाएपछि मितेरी साइनोमा जोडिएको बताउनुभयो ।
‘‘यहाँ आउँदा कोहि आफन्त थिएनन्, गोठालाको साथि नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेटाएँ, आजभोली मीत ज्यूसंग राम्रै दोस्ती बढेको छ’’–घलेले भन्नुभयो । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठहरु बेशीमा झरेपनि मल्कबाङ गाउँ नजीकैको फाँटमा भएको थियो ।
अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदा देखि गोठमा चाहिने दाउराघाँसमा उहाँहरुले सहकार्य गर्नुहुन्छ । घलेले काम गर्ने भेडीगोठमा नियमित रुपमा ४÷५ जना भैरहने भएकाले तुलाचन समेत विहान–बेलुका भेडीगोठमै गफ–गाफमा भेटिनुहुन्छ ।
बर्षौदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आउनुभएका तुलाचनले बुढ्यौलीमा गोठतीर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मीतको रुपमा नजीकको साथि बनाउँन पाउँदा खुसी लागेको बताउनुभयो । ‘‘ हामीलाई गोठले नै साथि बनायो, उहाँ कताको म कताको, गोठ नभैदिएको भए भेट हुनु कहाँको ! ’’–तुलाचनले भन्नुभयो । तुलाचनको गोठमा नौँ वटा भैँसी रहेका छन् ।
दुई जना मितेरी साइनेमा जोडिएपछि एक अर्का गोठको परिकार समेत सटही गर्ने मात्रै नभएर आलोपालो लगाएर गोठमा खाना समेत खाने गर्नुभएको छ । भैँसीगोठबाट तुलाचनले नियमित रुपमा दुध लगेर भेडिगोठ पुग्नुहुन्छ भने भेडीगोठका भान्सेको रुपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मीत तुलाचनलाई चखाउने गर्नुहुन्छ ।
बुढ्यौली लागेका दुबै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउनुहुन्छ । नाता सम्बन्ध नभएपनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मीत लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मीत ÷मीतिनी’ साइनो हराउँदै गएको छ । रासस