नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकालाई (तस्बिर सहित)

  • २१ पुष २०८०, शनिबार
  • 223 पटक पढिएको

बेनी, २१ पुस :  म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्धितिय र ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता बन्न सफल बेनी नगरपालिकालाई नगद रु २० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरी द्वितिय भएको रघुगंगा र तृतीय भएको अन्नपूर्णलाई क्रमशः नगद रु १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिब दानबहादुर राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा भलिबलमा छात्रतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्धितीय, छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका द्धितीय हुन सफल भएका थिए । त्यसैगरि कबड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्धितीय तथा छात्रातर्फ मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्धितीय हुन सफल भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पदक बिजेता र उपाधी बिजेता स्थानीय तह र विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।