बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या घट्दो, ११ विद्यालयको तह समायोजन

  • २० पुष २०८०, शुक्रबार
  • 461 पटक पढिएको

म्याग्दी (बेनी), पुस २० गते । चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्‍यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार वडा नम्बर ५ गाजनेस्थित जगन्नाथ आधाभूत विद्यालयमा जम्मा दुई जना मात्र विद्यार्थी भएपछि कक्षा ३ सम्मको विद्यालयलाई हाल बालविकास केन्द्रमा झारिएको छ । नगरका शिक्षा अधिकृत कमलप्रसाद ढकालले अहिले यो विद्यालयमा एक जना बालविकास सहजकर्ताले दुई जना विद्यार्थीलाई पढाउँदै आएको जानकारी दिनुभयो ।

वडा नम्बर १ को युवा वर्ष आधारभूत विद्यालयको कक्षा ५ मा एक जना मात्र विद्यार्थी भएपछि तह घटाएर ४ कक्षासम्म सञ्चालन गरिएको छ । १ देखि कक्षा ८ सम्म सञ्चालन भएको वडा नम्बर २ को हंशवाहिनी आधारभूत विद्यालयको कक्षा ७ र ८ मा विद्यार्थी शून्य भएपछि कक्षा घटुवा गरिएको छ ।

बेनी नगरपालिका–२, नवदुर्गा आधारभूत विद्यालयको कक्षा ५ मा एक जना मात्र विद्यार्थी भएपछि कक्षा बन्द गरिएको छ । कक्षा ३ सम्म पठनपाठन हुने वडा नम्बर ३ को भुमे आधारभूत विद्यालयको कक्षा २ र ३ मा विद्यार्थी शून्य भएपछि हाललाई कक्षा १ मात्र सञ्चालन गरिएको छ । वडा नम्बर ५ को गणेश आधारभूत विद्यालयको कक्षा ४ मा शून्य र ५ कक्षामा एक जना मात्र विद्यार्थी भएपछि तह घटाएर ३ कक्षासम्म मात्र सञ्चालन गरिएको छ । वडा नम्बर ६ को वागेश्वरी विद्यालयको कक्षा ४ र ५ मा विद्यार्थी नभएपछि अहिले ३ कक्षासम्म मात्र सञ्चालन गरिएको छ । कक्षा ५ सम्म पठनपाठन हुँदै आएको सल्लेरी आधारभूत विद्यालय ४ र ५ कक्षा बन्द गरेर ३ कक्षासम्म पठनपाठन हुँदै आएको छ । भवानी आधारभूत विद्यालयमा पनि २ र ३ कक्षा बन्द गरेर १ कक्षासम्म मात्र सञ्चालन गरिएको छ ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत ढकालले विद्यालयको स्थलगत अनुगमन गरी विद्यार्थी नभएका र न्यून भएका विद्यालयका कक्षालाई बन्द गरिएको बताउनुभयो । ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयलाई टिकाउन निकै चुनौती भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेकै अनुपातमा कक्षा खाली हुँदै जाने हो भने भोलिका दिनमा ग्रामीण क्षेत्रमा रहेका प्रायः सामुदायिक विद्यालय बन्द हुने अवस्था सिर्जना हुन सक्छ ।” उहाँले जनप्रतिनिधि, सरोकारवाला र अभिभावकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले बसाइँसराइ तीव्र र बजारमा सञ्चालित निजी विद्यालयका गाडी विद्यार्थी लिन ग्रामीण भेगसम्म पुग्ने गरेका कारण सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै जान थालेको बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धिमा ध्यान नपुर्‍याउँदा सामुदायिक विद्यालयमा विद्यार्थी कम उहाँको अनुमान छ । नगरपालिकाका जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, विद्यालयमा शैक्षिक पूर्वाधार विकास र अङ्ग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिन सके सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन सकिने उहाँको भनाइ छ । यो समाचार गोरखापत्र अनलाइनमा ठाकुर प्रसाद आचार्यले लेख्नुभएको छ ।