सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

  • १७ पुष २०८०, मंगलवार
  • 249 पटक पढिएको

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरकी सञ्चालक गंगा थापा कार्कीले सहजिकरण गर्नुहुने जनाएको छ ।

“सिमित स्रोत र साधनका बावजुत सामाजिक र आर्थिक क्षेत्रका कार्यक्रमलाई पनि जोड दिएका छौ,” कार्यक्रममा उपप्रमुख लामिछानेले भन्नुभयो “तालिमको सदुपयोग गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुहुनेछ भन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।” महिलाहरु स्वरोजगार र आत्मनिर्भर बनेपछि लैङ्गिक समानता र हिंसा न्युनीकरणमा सहयोग पुग्ने उपप्रमुख लामिछानेले बताउनुभयो । राज्यको लगानीको सदुपयोग र तालिमको उपयोग हुनुपर्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकामा ७ वटा सिकाई केन्द्र मार्फत क्षमता विकास र आयआर्जनमुलक कार्यक्रम सञ्चालन भएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले टोल विकास संस्था, आमा समूहको सिफारिसमा सहभागी छनौट गरिएको बताउनुभयो । सिकाई केन्द्रको रु. एक लाख बजेटले तालिमलाई अपुग हुने भएपछि वडा मार्फत थप रु. दुई लाख बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो । वडा सदस्य मिना कार्की र पवित्रा सार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन र ब्युटीपार्लर सम्बन्धी सेवा लिन बेनी पुग्नुपर्ने समस्या हटाउन स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न लागिएको बताउनुभयो । आधारभूत तहको तालिम लिएकाहरुलाई दोस्रो चरणमा एड्भान्स तहको तालिम दिने उहाँहरुले बताउनुभयो ।

शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत शर्माले गत वर्ष व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम दिएको र यसपाली महिलाहरुको माग अनुसार सौन्दर्यकला सम्बन्धी तालिम आयोजना गरेको बताउनुभयो । केन्द्रका सदस्य रामप्रसाद शर्माले प्रगति प्रतिवेदन पेश गर्दै साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम गरेको बताउनुभयो ।

केन्द्रका परिचालक सिता थापा कुँवरले सेवा क्षेत्र भित्र न्युन आय भएका महिलाहरुलाई विभिन्न आयआर्जन समूहमा आवद्ध गराई समुहलाई विउ पुँजी उपलब्ध गराएको र नियमित बैठक राख्ने गरिएको बताउनुभयो । सो कार्यक्रम देखि अतिथिहरुलाई मायाको चिनोका रुपमा स्थानीय उत्पादन उपहार दिन थालिएको छ ।
सोमबारको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख लामिछानेलाई सुन्तला उपहार दिएको र अन्य कार्यक्रमका अतिथिहरुलाई मौसम अनुसार फलफुल तथा कृषि उपज मायाको चिनो दिने वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।