मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

  • १५ पुष २०८०, आईतवार
  • 235 पटक पढिएको

म्याग्दी, १५ पुस । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित पिपलबोटको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले खेल क्षेत्रको विकासले सामाजिक एकता र राष्ट्रिय सदभाव बढाउने बताउँदै स्थानीय तहहरुले आयोजना गर्ने प्रतियोगिताहरु नवप्रतिभाको पहिचानको लागि महत्वपूर्ण माध्ययम बनेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ३० हजार र २० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका सूचना अधिकारी राजेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बाजागाजासहित विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेर कार्यक्रमस्थल पुगेका थिए । गाउँपालिकाका सूचना अधिकारी आचार्यको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख डिलकुमारी आचार्य,प्रहरी नायब उपरिक्षक मदन कुँबर,प्रमुख प्रशासकीय अधिकृत शिबकुमार पौडेल, राष्ट्रिय अनुशन्धानका अधिकृत बिजय पौडेल लगायतको उपस्थित रहेको थियो । वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता एकजित रोकाले स्वागत गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटनका अवसरमा विभिन्न विद्यालयका महिला शिक्षक, विद्यार्थी र पालिकाका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए ।