जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० र २१ गते हुने

  • ८ पुष २०८०, आईतवार
  • 181 पटक पढिएको

 

म्याग्दी, ८ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्यामा छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो ।

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा उतकृष्ट खेलाडीलाई सहभागि गराउनका लागि पालिकाका जनप्रतिनिधि, कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ। दुईदिनसम्म संचालन हुने प्रतियोगिताको प्राविधिक बैठक, खेल तालिका पुस १९ गतेनै सार्वजनिक गरिने कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो ।

आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश : २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान गर्न सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।