विपन्न परिवारकी छात्रा बिमलाको अध्ययनमा मल्कबाङ समाज युकेको साथ

  • ५ पुष २०८०, बिहीबार
  • 150 पटक पढिएको

म्याग्दी ५ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङकी विपन्न परिवारकी छात्रा बिमला नेपालीको पठनपाठनमा मल्कबाङ समाज युकेले सघाएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकी छात्रा नेपाली कक्षा ११ मा अध्ययनरत छिन् । म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत १७ बर्षिया नेपालीको क्याम्पसतर्फ लाग्ने सम्पूर्ण खर्च मल्कबाङ समाजले व्यहोर्ने गरि उनको अध्ययनमा सघाएको हो ।


कक्षा ११ देखि १२ सम्म लाग्ने क्याम्पस शूल्क, पाठ्यपुस्तक, स्टेशनरी, क्याम्पस पोशाक लगायतको सम्पूर्ण खर्च समाजले सहयोग गर्ने गरि बिमलाको शैक्षिक अभिभावकत्व लिईएको मल्कबाङ समाजका अध्यक्ष शेर छन्त्यालले बताउनुभयो । विहिवार क्याम्पसमा आयोजित एक कार्यक्रममा समन्वयकर्ता हरि छन्त्यालले क्याम्पसतर्फ कक्षा ११ मा लाग्ने शूल्क हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखत्रय भोलानाथ घिमिरे, नारायण सुवेदी र पशुपति ढकाल मार्फत क्याम्पसका प्रध्यापक समेत रहनुभएका समन्वयकर्ता हरि छन्त्यालले बिमलाको एक बर्षको क्याम्पस शूल्क बापतको रकम हस्तान्तरण गर्नुभएको थियो । विकट गाउँ मल्कबाङबाट एसइई उर्तिण गरेर म्याग्दी क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्दै आएकी छात्रा बिमलाको शैक्षिक अभिभावकत्व लिएर सहयोग अनुकरणीय कार्य गरेकोमा सहायक क्याम्पस प्रमुख घिमिरेले मल्कबाङ समाज युकेलाई धन्यबाद ज्ञापन गर्नुभयो ।


उहाँले म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीहरुबाट लिइने मासिक शुल्कको कुल रकममध्ये १० प्रतिशत रकम विपन्न र जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिमै खर्च गर्ने गरेकाले क्याम्पसले समेत बिमलाको सहज पठनपाठनको लागि उचित सम्वोधनको लागि प्रयास गर्ने बताउनुभयो । मल्कबाङ समाजले गरेको सहयोगले आफ्नो शैक्षिक यात्रामा ठुलो राहत मिलेको बिमलाको भनाई छ । बिमलाको क्याम्पसतर्फको खर्च संगै पठनपाठनमा लाग्ने स्टेशनरी लगायतमा समेत मल्कबाङ समाज युकेले सहयोग गरेको समन्वयकर्ता छन्त्यालले जानकारी दिनुभयो ।

नेपालीको आमा सुनाई र बोलाई सम्बन्धी अपांगता रहेकी हुनुहुन्छ भने बुबा ७० बर्षको बृद्ध हुनुहुन्छ । घरपरिवारका तीन छोरीमध्ये माईली बिमलाले यसै बर्ष एसइई उर्तिण गरेकी हुन् । जेठी दिदीले गाउँमा स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्ने र सोही आम्दानीले बेनीमा बिमलाको बसोबासको खर्च धान्ने गरेको घरपरिवार बताउँछन् । नेपालीको घरपरिवारको अन्य आम्दानीको स्रोत छैन् ।
छात्रवृत्तिमा सहयोग गर्नुहुने ब्यक्तिहरुको नामावली
१–शेर छन्त्याल
२–टीका पुर्जा
३–रत्न गर्बुजा
४–बबिन छन्त्याल
५–दिल छन्त्याल
६–ईन्द्र कुमारी छन्त्याल
७–किशोर छन्त्याल
८–ईमान छन्त्याल
९–बिर छन्त्याल
१०–चन्द्रबहादुर छन्त्याल
११–खगेन्द्र पुर्जा
१२–पूर्ण छन्त्याल
१३–चक्र छन्त्याल
१४–जगेन छन्त्याल
१५–याम प्रसाद छन्त्याल
१६–योगेश छन्त्याल
१७–बिनोद सिर्पाली
१८–दिप बहादुर छन्त्याल