ज्ञानोदय माविलार्ई रु ५१ हजार सहयोग
- ४ पुष २०८०, बुधबार
- 193 पटक पढिएको
बेनी, ४ पुस ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई रु ५१ हजार सहयोग प्राप्त भएको छ । समाजसेवी सुवेदार हर्कबहादुर भण्डारीले विद्यालयलाई उक्त सहयोग गर्नुभएको हो । मौवाफाँट घर भइ हाल पोखरामा बसोबास गर्र्दै आउनुभएका भण्डारीले विद्यालयको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उदेश्यले उक्त सहयोग गरेको बताउनुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । वि.स. २०२५ सालदेखि २०२९ सालसम्म यसै विद्यालयमा आधारभुत तहको पठनपाठन समेत गर्नुभएका भण्डारीले आफुले प्रारम्भीक तहको पठनपाठन गरेको विद्यालयको समग्र शैक्षिक सुधार र विकासमा सहयोग गर्न पाउँदा आफुलाई गौरव लागेको बताउनुभयो । कार्यक्रममा सहयोगदाता भण्डारीलाई विद्यालयले सम्मान समेत गरेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, अध्यक्ष सुवेदी, प्रअ बिजय शर्मा लगायतले सहयोगदाता भण्डारीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सहयोगदाता भण्डारीले विद्यालयका पूर्व प्रअ सोमनाथ सुवेदी, स्थानीय समाजसेवी गोविन्दराम खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रअ शर्मा लगायतलाई आफ्नो तर्फबाट सम्मान समेत गर्नुभएको थियो ।