कुखुरा र बंगुर नपाल्ने, मदिरा नचल्ने गाउँ ‘गाजने’
- १ पुष २०८०, आईतवार
- 451 पटक पढिएको
बेनी, १ पुस : म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ बर्षदेखि निरन्तरता दिईएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ बर्षदेखि कुखुरा र बंगुर पालन तथा घरेलु मदिरा उत्पादन हुँदैन् । सुन्दा अचम्म लागेपनि १५ औँ सताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालिन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नीयम अनुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयाँै बर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसाथ गरि गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले बताउनुभयो । ‘यो तत्कालिन राजाले बसालेको नीयम हो, बिचमा केहिले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरुको परिवारलाई उक्त कदमले शूभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्,’’–उहाँले भन्नुभयो ।
बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीप बम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बंगुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।
तत्कालिन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयबासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साहकारी गाउँको रुपमा चिनिन थालेको छ ।
गाजने गाउँमा कुखुरा, बंगुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयबासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजा पताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीप बमले १५ औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थल समेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।
पछिल्लो समय गाजने पर्यटकीय गाउँको रुपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरको रुपमा रहेको जगन्नाथ मन्दिरमा पुजाआजा गर्नको साथै अनौठौ परम्परागत मान्तलाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसंगसंगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरुको लागि समेत उपयुक्त गन्तव्यको रुपमा विकास हुन थालेको हो । रासस