श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु

  • २९ मंसिर २०८०, शुक्रबार
  • 385 पटक पढिएको

म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्‍याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् ।

विकास र सामाजिक एकताको लागि युवाको अभियान अन्तरगत गाउँमा भएका अगुवाको सल्लाह र युवाहरुको नेतृत्वमा श्रमदान र आर्थिक सहयोग अभियानमार्फत पदमार्ग निर्माण अघि बढाईएको पदमार्ग निर्माण समितिका संयोजक सागर केसीले बताउनुभयो ।


निर्माण सुरु भएको पाचँ दिन सम्म बेनी–जोमसोम सडक भन्दा तल पक्की पदमार्ग निर्माण सकेर सडक माथि निर्माण सुरु भएको अभियानका संयोजक केसीले बताउनुभयो । ‘‘गाउँबाट दिवंगतलाई आर्यघाटसम्म ल्याउने जीर्ण पदमार्गलाई पक्की बनाउने अभियानमा गाउँका सबै श्रमदान र आर्थिक सहयोगमा जोडिने क्रम बढेको छ । सडक भन्दा तल ८६ वटा सिढी बनाएका छौ। सडक भन्दा माथि पदमार्ग बनाउने अभियान चलेको छ,”–उहाँले भन्नुभयो ।


यस पदमार्गको रिसिनचौतारी देखि कालीगण्डकी किनारको सिरुबारी आर्यघाटमा निस्कने बाटो सागुरो, जिर्ण बनेको पदमार्गलाई दिगो र पक्की बनाउन आवश्यक पर्ने सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेश तथा विदेशमा रहेका भगवतीवासीमार्फत श्रमदान र आर्थिक सहयोग आउनेक्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । श्रमदानसंगसंगै हालसम्म डेढलाख रुपैयाँ भन्दा माथि रकम संकलन भएको उल्लेख गर्दै आउने क्रम जारी रहेको उहाँले भन्नुभयो ।

गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको श्रमदानमा खटिएका अर्का युवा आकाश केसीले बताउनुभयो । युवाहरु राजनीतिमा भन्दा पनि विकासमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने धारणासहित गाउँका सबै मिलेर अभियान अघि बढेको छ। साथ र सहयोग प्राप्त भएसम्म अभियानलाई पूर्णता दिने लक्ष्य छ ।