गलेश्वर मन्दिरमा सतबीज छर्ने भक्तजनको भिड (फोटोफिचर)

  • २५ मंसिर २०८०, सोमबार
  • धिरन खत्री
  • 246 पटक पढिएको

 

म्याग्दी, २५ मंसिर । बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि सोमबार विहानदेखि हजारौँ भक्तजनको घुँइचो लागेको हो । गलेश्वर शिवालय मन्दिरमा लाग्ने ठुलो पर्व बालाचुर्दशी हो ।


बालाचतुर्दशी पर्वलाई सतबीज रोपण पर्वका रुपमा लिँईन्छ । पितृ उद्धारका लागि उनीहरूको सम्झनामा सतबीज छर्नका लागि विहान ५ देखि आएको भक्तजनहरुको सख्ंया हेर्दा दिनभरमा ५० हजार भन्दा बढी भक्तजनहरुले गलेश्वरधाममा पुजा आराधाना तथा सतबिज छर्ने देखिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।


गलेश्वरको महिमाको प्रचार प्रसारले भक्तजनहरुको आगमन बढेसंगै लाईनमा बसेर शान्त रुपमा पुजा गर्ने प्रवन्ध मिलाउन स्वयमसेवक र सुरक्षाकर्मीको ब्यवस्थापन गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ । गलेश्वरमा आएका भक्तजनहरुले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, भोगटे, कागती लगायतका सात भन्दा माथि प्रकारका बीउ छर्ने गर्छन् ।


गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट समेत भक्तजनहरु आएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यस पर्वको अवसरमा गलेश्वर शिवालय मन्दिरमा पुग्नुभएका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले पूर्वाधार र प्रसारप्रचारले गलेश्वर शिवालय मन्दिरमा धार्मिक पर्यटकको आगमन बढेको बताउनुभयो ।
यस पर्वमा डाली, नाङ्लो, कपडा, सुन्तला लगायतका ब्यापारीहरु गलेश्वर मन्दिरमा पुगेका छन् ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l