बिजुली विक्रिबाट नेपाल आम्दानी गर्ने ठाउँमा पुगीसक्यो : उर्जामन्त्री बस्नेत

  • २३ मंसिर २०८०, शनिबार
  • 201 पटक पढिएको

बेनी, २३ मंसिर : उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली विक्रिबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल, म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै उर्जामन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । अबको दुईबर्षभित्र नेपालले बिजुली विक्रिबाट आम्दानी मात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उहाँले बताउनुभयो । नेपालबाट गत बर्ष १० अर्बको बिजुली विक्रि भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो बर्ष नेपालले बिजुली विक्रिबाट आम्दानी गर्ने दावि गर्नुभयो ।
‘‘ यो बर्ष हालसम्म १४ अर्बको बिद्युत विक्रि भैसकेको छ, जेठ र असारसम्म पुग्दा १८ अर्बसम्मको हामीले विद्यूत विक्रि गर्ने लक्ष्य राखेका छाँै, यो बर्ष नेपालले बाहिरबाट बढीमा १२ अर्बको मात्रै खदिर गरे पुग्छ, हामी यसैबर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ’’–मन्त्री बस्नेतले भन्नुभयो । उहाँले म्याग्दीका सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउन आबश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै नेपाल अध्यारोमुक्त बन्ने बाटोमा रहेको बताउनुभयो । म्याग्दीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्यूत आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिर समेत गर्नुभयो । ‘‘ सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ, सबै सूचकहरुको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ, यो सरकारले गरेको सकरात्मक काम हो’’–मन्त्री बस्नेतले भन्नुभयो । मन्त्री बस्नेतले व्यापार घाटा न्युनिकरण, मुल्यबृद्धि नियन्त्रण र रोजगारका अवसरहरु सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिब समेत रहनुभएका नेता बस्नेतले नेपालको नयाँ संविधानमा समाजवाद उन्मुख अर्थव्यवस्थालाई स्विकार गरेकाले अबको ध्यान समाजवाद निर्माणमा केन्द्रित हुने बताउनुभयो । उहाँले समाजवादी मोर्चामा सरकार र सरकार बाहिरका दलहरु समेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष एवम् समाजवादी मोर्चाका सचिब प्रमेश हमालले नेपालमा समाजवाद निर्माणका लागि मोर्चाले महत्वपूर्ण आधार तयार गर्ने बताउँदै अबको राजनीतिक कार्यदिशा समाजवाद भएको बताउनुभयो । उहाँले मोर्चामा सरकार र सरकार बाहिरका दलहरु समेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री एवम समाजवादी मोर्चा म्याग्दीका संयोजक रेशमबहादुर जुग्जालीले समाजवादी विचार र दृष्टिकोण बोकेका दलहरुको एकताले आम नागरिकमा सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।