मौवाफाँटमा मुडा बुनाई तालिम सम्पन्न
- २२ मंसिर २०८०, शुक्रबार
- 413 पटक पढिएको
बेनी, २२ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत आठ दिने मुडा बुनाई तामिल दिईएको हो ।
२५ जनाले सहभागीता जनाएको तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुभएको थियो । तालिममा सहभागीहरुले मुडा बुन्न सक्ने क्षमता र सिप सिकेको सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, तामिलले स्थानीय स्तरमा खेर गएको बाँसको उपयोग गरि उद्यमी बन्ने बाटो खोलेको छ ।
तालिम समापन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ढकालले थोरै लगानी र फुर्सदको समयलाई उपयोग गरेर उद्यमी बन्न मुडा बुनाई सिप उपलब्धीमुलक बन्न सक्ने बताउनुभयो ।
उहाँले तालिममा सिकेको सिपलाई व्यवहारिक रुपमा उतार्न सकेमा मात्रै तालिमको औचित्य हुने बताउँदै सिपलाई उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक गोतामेले सहभागीहरुलाई थप सिपको निखार ल्याउन आफुले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । सिकाई केन्द्रका परिचालिका दुर्गादेवी भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य जयन्ती मल्ल भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो ।