अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

  • १९ मंसिर २०८०, मंगलवार
  • धिरन खत्री
  • 283 पटक पढिएको

 

म्याग्दी, १९ मंसिर । सदरमुकाम बेनीमा ‘राम– विमला फाउण्डेशन २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ । मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता जनाएका छन् । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्षको मुख्य प्रायोजक राम–विमला फाउण्डेशनका संचालक प्रदेश सदस्य गौचनले एकलाख रुपैयाँको चेक अध्यक्ष सुमन बानियाँलाई हस्तान्तरण गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य विमला गौचनले जिल्लामा फुटवल क्षेत्रमा नयाँ खेलाडीहरुको उत्पादन र खेलप्रतिको आकर्षण बढाउन जेसीज कप प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘२१ औँ संस्कणसम्म निरन्तर भएको यस प्रतियोगिताले विद्यालय तहदेखि नै जिल्लास्तरमा फुटवलप्रतिको मोह बढाएको छ, खुल्लामञ्चको खेलकुद पूर्वाधारलाई पूर्णता दिन प्रदेश सरकारमा पहल गर्ने छु’– प्रदेश सदस्य गौचनले भन्नुभयो ।

त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले खुलामञ्चलाई मिनि रंगशाला बनाउने योजनाालाई पूर्णता दिनलाई नगरमा बजेट नभएको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारले खुल्लामञ्चलाई पूर्णता दिने किसिमले बजेट छुट्याउनमा बेवास्ता गरेको बताउँदै अर्को बर्ष नगरले ५० लाख रुपैयाँ बजेट छुट्याउने योजना रहेको जानकारी गराउनुभयो । उहाँले अनुशासन पुर्वक खेल प्रतिभालाई अघि बढाउन प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ७ का वडाअध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा फुटवल खेलको विकासमा जेसीज कपको योगदानबारे चर्चा गर्दै खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष श्रेष्ठले खुल्लामञ्चको पूर्वाधार निर्माणमा भएको ढिलाईप्रति प्रदेश माननीयलाई ध्यानाकर्षण गराउनुभएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले फुटवल क्षेत्रको विकासको लागि म्याग्दीमा फुटवल संघ आधिकारिक रुपमा दर्ता भएर अघि बढेको बताउनुभयो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष बानियाँको अध्यक्षता, प्रतियोगिताका मुल संयोजक घर्तिको स्वागत र महासचिब कुमार बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठको उपस्थित भएको थियो ।

कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष बानियाँले भन्नुभयो । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ ।

     

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l