कालीगण्डकी कोरिडोरः बेगखोला–भुरुङ तातोपानी खण्डको काम ३ वर्षपछि लयमा फर्कियो

  • १९ मंसिर २०८०, मंगलवार
  • 263 पटक पढिएको

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला–भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । रघुगङ्गा गाउँपालिका -३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।


मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।

‘पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस विछ्याउने काम सकिएको छ,’ उनले भने, ‘चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ ।’

शर्माले युनाइटेडका इञ्जिनियर प्रशान्त तिमिल्सिनाले करिब ६ किलोमिटर दूरीमा सब बेस र बेस राख्ने काम सकिएको बताए । ‘मौसमले साथ दियो भने ६ देखि आठ किलोमिटर सडक यसपाली कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ,’ उनले भने ।

यसखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । रघुगङ्गा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब ६ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताए ।

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन सङ्घीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताए ।

‘म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौँ,’ गत हप्ता निर्माणाधीन सडक अनुगमन गरेका उनले भने, ‘नागढुङ्गादेखि मुस्ताङको घाँसा खण्डसम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दबाबका साथै समन्वय र सहजीकरण गरिरहेका छौ ।’