पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

  • १८ मंसिर २०८०, सोमबार
  • 259 पटक पढिएको

म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ .।


यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।
पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुुस भएको कास्कीको पोखराका सुमन गिरिले बताए ।

घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए । उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।